नेप्सेले दियो ३२ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सको सिफारिस

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

नयाँ स्टक एक्सचेन्ज (नेप्से)मा नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिने कम्पनीको संख्या ३२ पुगेको छ । असोज १ मा नेपाल धितोपत्र बोर्डमा आवेदन दिने अन्तिम मितिभन्दा तीन दिनअगाडि नै सिफारिस लिने कम्पनीको संख्या ३२ पुगेको हो । 

धितोपत्र बोर्डले जारी गरेको सूचनाअनुसार सोमबारसम्ममा इच्छुक कम्पनीले नेप्सेबाट सिफारिस लिइसक्नुपर्नेछ । बोर्डले २ असोजमा ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको थियो । नयाँ ब्रोकरका लागि बोर्डले आवेदन दिन ३० दिनको समय दिएकोे थियो । नयाँ ब्रोकर कम्पनीको आवेदन दिने अवधि ३१ असोजमा सकिँदै छ । 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिएबमोजिम निवेदन दस्तुर विवरण तथा कागजात संलग्न गरी बोर्डसमक्ष पेस गर्नुपर्नेछ । धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्याएको छ । यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीका लागि एक अर्ब रुपैयाँ पुर्याएको छ । 

आवेदन परिसकेपछि बोर्डले रीतपूर्वक आवेदन परे–नपरेको जाँचबुझ गरी नियमावलीअनुसार म्याद सकिएको मितिले ३५ दिनभित्र योग्य कम्पनीको छनोट गरी निर्णय लिइसक्नुपर्नेछ । पहिलो चरणमा बोर्डले पूर्वाधार निर्माण, कर्मचारी भर्नालगायतको काम मापदण्डअनुरूप बनाउन निर्देशन दिनेछ भने त्यसको तीन दिनभित्र बोर्डले स्थलगत अध्ययन गरी अनुमति दिनेछ । बोर्डले प्रत्येक तीन वर्षपछि मात्र नयाँ ब्रोकरका लागि आवेदन खुला गर्न सक्ने नियमावलीमा उल्लेख गरिएको छ । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमयबजारमा अझै परेन आवेदन

ब्रोकर लाइसेन्ससँगै सूचना आह्वान भएको नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारमा भने हालसम्म पनि कुनै पनि आवेदन परेको छैन । दुवैमा आवेदन दिन बोर्डले ४५ दिनको समय छुट्याएको छ । यी दुवैको आवेदन दिने समय कात्तिक १५ सम्म रहेको छ । बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि दुईवटा लाइसेन्स वितरण गर्ने भएको छ । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमयका लागि बुझ्न करिब १० वटा कम्पनी आइसकेको भए पनि कुनैको पनि आवेदन नपरेको बोर्डका उपकार्यकारी निर्देशक रूपेश केसीले जानकारी दिए ।

देशको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणसमेतलाई दृष्टिगत गरी हाललाई दुईवटा वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति दिन लागिएको बताइएको छ ।त्यसैगरी, बोर्डले आवेदन दिन आउनेका लागि ७ असोजमा सहायता कक्षा स्थापनासमेत गरेको छ । बोर्डका दुई कार्यकारी निर्देशक तोलाकान्ता न्यौपाने र नवराज पण्डितको नेतृत्वमा सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । सहायता कक्षाले आवेदनसम्बन्धी जानकारी र अस्पष्टता भएकालाई आवश्यक सहजीकरण गर्ने भएका हुन् ।

See More On

सुझावित समाचार