दसैँमा उच्च माग हुने लत्ताकपडाको मूल्य २० प्रतिशतसम्म बढेको व्यवसायीले बताएका छन् । न्युरोड क्षेत्रमा जुत्ताचप्पल, लत्ताकपडालगायतको व्यापार गर्दै आएका व्यवसायीहरूको संगठन राष्ट्रिय व्यापार संघका अध्यक्ष हेमलाल खरेलले गत वर्षको दसैँको तुलनामा यसपालि १५ देखि २० प्रतिशतले महँगिएको बताए ।
‘गत वर्षभन्दा यसपालि लत्ताकपडामा १५–२० प्रतिशत भाउ बढेको छ,’ उनले भने, ‘त्यसो त भनेअनुसारको सामान आएको पनि छैन ।’ १० भदौको भोटेकोशी बाढीले केरुङ नाका बन्द भएपछि व्यवसायीले चीनबाट नयाँ कपडा ल्याउन पाएका छैनन् ।
कोरला नाकामा यसअघि नै भन्सार जाँचपास भएका १०० कन्टेनर लत्ताकपडा भने दसैँअघिसम्म ल्याउने गृहकार्य भइरहेको खरेलले बताए ।
‘हिमपहिरो गएर कोरला बन्द हुनुअघि जाँचपास भएका करिब १०० कन्टेनर सामान ल्याउन लागिएको छ,’ उनले भने, ‘उपभोक्ताले खोजेअनुसार कपडा त पुग्छ, तर नयाँ मोडलको कपडा खोज्नेहरूलाई केही समस्या हुन सक्छ ।’