- मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका फुजी, गाला र गोल्डेन डेलिसियस प्रजातिका बिरुवा रोपेर परीक्षण
ताप्लेजुङ/ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एक परीक्षणले व्यावसायिक स्याउखेतीको सम्भावना देखाएको छ । समुद्री सतहबाट करिब तीन हजार दुई सय मिटरभन्दा माथिको फले र तीन हजार चार सय ७५ मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरुवाले गुणस्तरीय फल दिन थालेपछि यहाँ स्याउखेती विस्तारको आधार तयार भएको हो ।
फक्ताङलुङ गाउँपालिका– ६ अन्तर्गत पर्ने यी क्षेत्रमा उत्पादित स्याउको स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा आएको छ । स्विट्जरल्यान्डबाट आएका स्याउ विशेषज्ञ टोलीले गरेको परीक्षणमा घुन्सामा उत्पादित फुजी स्याउमा १३ ब्रिक्स, गाला स्याउमा १३ दशमलव ५ ब्रिक्स र गोल्डेन डेलिसियस स्याउमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ ।
पुतली सहयोग योजना, स्विट्जरल्यान्डको टोली र स्थानीय समुदायको साझेदारीमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुई–दुई रोपनी क्षेत्रफलमा नमुना स्याउ बगैँचा स्थापना गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका फुजी, गाला र गोल्डेन डेलिसियस प्रजातिका बिरुवा परीक्षणका लागि रोपिएका थिए ।
विशेषगरी घुन्सामा पहिलोपटक गरिएको परीक्षणले स्थानीयलाई थप उत्साहित बनाएको छ । बिरुवा रोपेको करिब ६ महिनामै फल दिन थालेपछि स्थानीयले स्याउखेतीलाई आय–आर्जनको नयाँ माध्यमका रूपमा हेर्न थालेका छन् । घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पा परीक्षण बगैँचाको उत्पादनबाट आफूहरू उत्साहित भएको बताउँछन् । आफ्नै बगैँचा विस्तार गर्ने योजना बनाइरहेको बताउँदै उनले हिमाली क्षेत्रमा राम्रो स्वादको स्याउ उत्पादन सम्भव रहेको बताए ।
घुन्सास्थित नमुना बगैँचामा जापानिज फुजीका ६०, गोल्डेन डेलिसियसका १० र गालाका १० बिरुवा लगाइएको छ । बगैँचामा मौरी र कुखुरापालनसमेत गरिएको छ । मौरीले स्याउका फूलमा परागसेचनमा सहयोग पुर्याउने र कुखुराबाट माटोको उर्वराशक्ति बढाउन सहयोग पुग्ने गरी नमुना कृषि प्रणाली अपनाइएको हो ।
स्याउखेतीको सम्भाव्यता पहिल्याउन चार वर्षअघि फले र घुन्साको माटो स्विट्जरल्यान्ड पठाएर परीक्षण गरिएको थियो । माटो स्याउखेतीका लागि उपयुक्त देखिएपछि नमुनाका रूपमा बिरुवा रोपिएको हो । त्यसको उत्पादनमा समेत अपेक्षित गुणस्तर देखिएपछि अब परीक्षणलाई व्यावसायिक खेतीतर्फ लैजान सकिने आधार बनेको स्थानीयको भनाइ छ ।
फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले परीक्षण उत्पादनमै गुणस्तर र सम्भावना देखिएकाले हिमाली क्षेत्रमा स्याउखेती विस्तार गर्न सकिने जनाकारी दिए । अध्यक्ष लिम्बूले स्थानीय किसान र विभिन्न संस्थाले परीक्षणका लागि रोपेका बिरुवाले राम्रो फल दिएपछि पालिकाले व्यावसायिक कृषितर्फ जोड दिने योजना बनाएको बताए ।
कञ्चनजंघा आधार शिविर जाने पदमार्गमा पर्ने फले र घुन्सामा स्याउ उत्पादन विस्तार गर्न सके स्थानीयको आम्दानी बढाउनुका साथै पर्यटकलाई स्थानीय उत्पादनसँग जोड्न सकिने सम्भावना बढेको छ । पालिकाले उत्पादित कृषिजन्य वस्तुलाई बजारसम्म पुर्याउन कृषि एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको छ । स्याउको उत्पादन बढेमा बजार सुनिश्चित गर्दै किसानलाई परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषितर्फ लैजाने पालिकाको लक्ष्य रहेको अध्यक्ष लिम्बूले बताए ।