सिद्धार्थ बैंकको एपिआई बैंकिङ प्लाटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सिद्धार्थ बैंकले एपिआई बैंकिङ प्लाटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ । नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा बैंकले उक्त प्लाटफर्मको सुरुवात गरेको हो ।

‘र्यापिड’ बैंकिङ एज अ सर्भिस अवधारणामा आधारित प्लाटफर्म हो । यसले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई)मार्फत बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवाप्रदायकका प्रणालीलाई एक–आपसमा जोड्न सहयोग गर्ने बताइएको छ । प्लाटफर्म बैंकको प्रणालीमा एकीकृत भएसँगै कर्पोरेट ग्राहकले विभिन्न बैंकिङ सेवा प्रयोग गर्न छुट्टाछुट्टै प्रणालीमा जानुपर्ने झन्झट हटाउने बैंकले जनाएको छ ।

यस प्लाटफर्ममार्फत ग्राहकले आफ्नै सफ्टवेयर वा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणालीबाट बैंक खाताको मौज्दात हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, ट्रेजरी व्यवस्थापन गर्न तथा कारोबारको स्वतः मिलान (अटोमेटेड रिकन्सिलेसन) गर्न सक्नेछन् । 

त्यसैगरी, ग्राहकले ‘कनेक्ट विथ एपिआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । सेवा प्रयोग गर्न बैंकमा एकपटक मोबाइल बैंकिङमा जस्तै फाराम भरेपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने बैंकको भनाइ छ । प्लाटफर्मले ग्राहकको सहमति लिने प्रक्रियालाई पनि डिजिटल बनाएको बैंकको भनाइ छ । यसबाट सेवा प्रयोगको प्रक्रिया सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ । प्लाटफर्ममा एन्ड–टु–एन्ड इन्क्रिप्सन, बहुस्तरीय प्रमाणीकरण तथा अन्य सुरक्षा प्रोटोकल प्रयोग गरिएको बैंकले जनाएको छ ।

सुझावित समाचार