फोहोरबाट कम्पोस्ट मल बनाउने प्रविधि जडान गर्दै काठमाडौं महानगर

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

सहरी विकास मन्त्रालयले उपत्यकाको फोहोर ४० वर्षसम्म डम्पिङ गर्न मिल्ने गरी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट तयार गरे पनि काठमाडौं महानगरपालिकाले भने यसको पनि विकल्प खोजेको छ । महानगरले उपत्यकाको फोहोरबाट मल उत्पादन गर्ने लक्ष्यसहित सम्भावित ठाउँ खोजिसकेको हो । 

चितवनमा रहेको सफा ऊर्जा प्रालिसँग महानगरले फोहोर व्यवस्थापनमा सहकार्य गर्न लागेको हो । हाल यही प्राविधिक कम्पनीसँगको सहकार्यमा भरतपुर महानगरले कुहिने फोहोरलाई मल बनाउँदै आएको छ । सफा ऊर्जाले हट कम्पोस्टिङ प्रविधिबाट फोहोरलाई ३० दिनमा कम्पोस्ट मल बनाउँछ । सोही प्रविधि अपनाउनेबारे महानगरका मेयर बालेन्द्र साहले कम्पनीसँग छलफल गरिसकेका छन् । उनले उक्त प्रविधि स्थापना गर्न सम्भावित ठाउँ पनि पत्ता लगाइसकेका छन् । दक्षिणकाली, गोकर्णेश्वर र नागार्जुन क्षेत्रमा सार्वजनिक जग्गा भेटिएको र अब मेसिन जडान गर्नेबारे छलफल भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा उत्पादन हुने७० प्रतिशत फोहोर कुहिने प्रकृतिका हुन्छन् । यो फोहोर कम्पोस्ट मलका लागि उपयुक्त मानिन्छ । तर, हालसम्म यस्ता फोहोर पनि सिसडोल र बन्चरेडाँडामा डम्पिङ हुँदै आएको छ । यो फोहोरबाट मल उत्पादन गर्न सके किसानलाई पनि फाइदा पुग्ने र उपत्यकाभित्रै फोहोर व्यवस्थापन हुने प्रवक्ता मानन्धरको भनाइ छ । ‘फोहोरलाई डम्पिङ मात्रै गरेर हुँदैन, यसबाट फाइदा लिनुपर्छ,’ उनले भने, ‘यसका लागि मेयरसाबले तीन स्थानको सार्वजनिक जग्गा हेरिसक्नुभएको छ ।’ उनका अनुसार मेयर साहले विज्ञ टोलीसँग छलफल गरिरहेका छन् । 

नि:शुल्क मेसिन दिन कम्पनी तयार
उक्त कम्पनीले काठमाडौं महानगरको फोहोरलाई सहजै ‘मोहर’मा बदल्न नि:शुल्क रूपमा सहयोग गर्नेसमेत जनाएको छ । यो मेसिन दुई महिनामै जडान गर्न सकिन्छ । सफा ऊर्जा प्रालि उत्पादन तथा गुणस्तर विभाग प्रमुख रोशन केसीले महानगरले तत्परता देखाए नि:शुल्क सहयोग गर्न तयार रहेको बताए । ‘यो प्रविधिबाट मल बनाउन धेरै खर्च पनि लाग्दैन, मेसिन पनि महँगो छैन, काठमाडौं महानगरले यो प्रविधि अपनाए नि:शुल्क उपलब्ध गराउँछौँ,’ केसीले भने, ‘यो प्रविधि ठूला सहरका लागि अझै बढी उपयोगी मानिन्छ ।’ उनका अनुसार यो प्रविधि जडान गर्न जग्गा व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हो । एउटा मेसिन जोड्न र फोहोरबाट मल उत्पादन गर्न करिब पाँच रोपनी जग्गा चाहिन्छ । एउटा मेसिनमा दैनिक तीन सय टन फोहोर राख्न मिल्छ । यो मेसिन जडान गरेपछि उपत्यकामा उत्पादन हुने कुहिने फोहोर व्यवस्थापनमा सहज हुने कम्पनीको दाबी छ । 

के हो हट कम्पोस्टिङ प्रविधि ?
फोहोरलाई कम्पोस्ट मल बनाउने प्रविधि युनिभर्सिटी अफ क्यालिफोर्निया, अमेरिकाले विकास गरेको हो । यसलाई विन्ड्रो एरोबिक कम्पोस्टिङ प्रविधि (हट कम्पोस्टिङ) भनिन्छ । मल बनाउन ‘कम्पोस्ट टर्नर’ मेसिन चाहिन्छ । फोहोर यो मेसिनमा राखेर पकाएपछि मल बन्छ । हालसम्मका प्रविधिमध्ये यो सहज प्रविधि पनि हो । ३० दिनसम्म कुहिने फोहोर पकाएपछि मल तयार हुन्छ । यसो गर्दा रोगजन्य कीटाणु पनि मर्छन् । ३० दिनमा बिरुवालाई चाहिने उत्कृष्ट कम्पोस्ट धुलो मल तयार हुन्छ । यो प्रविधि हाल भरतपुर महानगर, खोटाङको मजुवागढी नगरपालिका र स्याङ्जाका केही कृषि फार्मले अपनाएका छन् ।

टेकुको ‘बायो ग्यास प्लान्ट’ प्रयोगविहीन 
त्यसो त काठमाडौं महानगरपालिकाले फोहोरलाई ‘मोहर’ बनाउने लक्ष्यसहित स्थापना गरेको बायो ग्यास प्लान्ट नौ वर्षदेखि टेकुमा अलपत्र छ । एक करोड ८६ लाख रुपैयाँ खर्चेर जडान गरेको उक्त मेसिन महानगरले प्रयोग गर्न सकेको छैन । पुरानै मेसिन प्रयोगविहीन रहेकै अवस्थामा महानगरले नयाँ मेसिन खरिद गर्ने योजना बनाएको छ । ०७१ सालमा भिœयाएको उक्त प्रविधिबाट बिजुली, ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिने आकलन गरिएको थियो । महानगरका वातावरण विभाग प्रमुख सरिता राईले बायो ग्यास प्लान्ट चलाउने जनशक्ति र मर्मत गर्ने प्राविधिकसमेत नहुँदा यसबाट फाइदा लिन नसकिएको बताइन् । उनका अनुसार बायो ग्यास प्लान्ट मर्मतका लागि महानगरले दुई तीन महिनाअघि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको छ ।

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन अझै सकेको छैन, तर उपत्यकाकै भक्तपुर नगरपालिकाले भने फोहोर व्यवस्थापन प्रभावकारी बनाएको छ । भक्तपुरले फोहोरबाट आम्दानीसमेत गर्दै आएको छ । फोहोरबाट उत्पादित मल प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्छ । नगरपालिकाका मेयर सुनील प्रजापतिका अनुसार फोहोरबाट दैनिक पाँच सय किलो कम्पोस्ट मल उत्पादन हुन्छ । उक्त मल वडा कार्यालयहरूबाट किसानलाई सहुलियतमा बिक्री गरिन्छ । ‘हामी नकुहिने र कुहिने फोहोर अलग–अलग संकलन गर्छौँ, नकुहिनेमध्येको केही फोहोर बेच्छौँ, कुहिने फोहोरबाट मल बनाउँछौँ,’ मेयर प्रजापतिले भने, ‘मल पनि नहुने र बिक्री पनि नहुने फोहोरचाहिँ वडा ८ मा डम्पिङ गरेर राख्छौँ ।’ उनका अनुसार नगरपालिकाले दैनिक १० वटा कन्टेनरमा फोहोर संकलन गर्छ । कुहिने फोहोर ‘सिएलबिएम’ प्रविधिको प्रयोग गरेर मल बनाइन्छ । अन्य प्लास्टिकजन्य फोहोर बिक्री हुन्छ । 

फोहोर उत्पादन बढेपछि प्रविधि थप्दै
भक्तपुरले फोहोर उत्पादन बढ्न थालेपछि वैकल्पिक उपाय पनि खोजेको छ । त्यसका लागि ‘बक्स कम्पोस्टिङ’ प्रविधि प्रयोग गर्ने तयारी गरेको छ । उक्त प्रविधि जडानका लागि उपकरण पनि खरिद गरिसकेको छ । यस प्रविधिबाट पनि कम्पोस्ट मल नै बन्छ ।

ललितपुरको योजना नै छैन
ललितपुर महानगरले पनि बन्चरेडाँडामै फोहोर फाल्दै आइरहेको छ । ललितपुरले भने यसरी फोहोरलाई मलमा रूपान्तरण गर्ने कुनै योजना ल्याएको छैन । ललितपुर महानगरपालिका वन वातावरण तथा विपत् व्यवस्थापन समिति संयोजक नारायण अवालेले ठाउँ अभावले फोहोरबाट मल उत्पादन गर्ने प्रविधि जडान गर्न नसकेको बताए । ‘हामीकहाँ फोहोर थुपार्ने र मेसिन राख्ने ठाउँ छैन,’ उनले भने, ‘ठाउँ भेटिए मेसिन जडान गर्छौँ ।’

सुझावित समाचार