भूराजनीतिक अवस्था बुझेर मुलुक हाँक्ने नेतृत्व भएन : डा. वाग्ले

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

अर्थविद् डा. स्वर्णिम वाग्लेले भूराजनीतिक अवस्था बुझेर मुलुक हाँक्ने नेतृत्व नभएकाे बताएका छन्। 

शुक्रबार एसोेसिएसन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन्। 

योजना, भूराजनीतिक अवस्था, पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्न सक्ने नेतृत्व नभएको उनकाे जिकिर थियाे।  

‘अहिले राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट हामी चार हजार डलर पुगेको भए स्वस्थ देश भन्न सक्थ्यौँ। झ्यालढोका नै बन्द गर्ने प्रवृत्तिले खतराको अवस्था देखिएको छ । नीतिहरूमा पनि संकुचन आउने अवस्थामा गएका छौँ,’ उनले भने, ‘योजना, भूराजनीतिक अवस्था, पूर्वाधार विकास र नेपालको डेमोग्राफिक ट्रान्जिसन बुझेर मुलुक सञ्चालन गर्न सक्ने नेतृत्व भएन।’

वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जल्यान्ड बन्न नसक्ने बताए। उनले नेपाल सिंगापुर र स्विट्जल्यान्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसाबले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए। अहिले श्रीलंकाको तीन हजार नाै सय प्रतिव्यक्ति आय रहेको बताउँदै उनले नेपालमा अबको तीन–चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भई युवा पुस्ताले नेतृत्व पाउने दाबी गरे। 

उनले राजनीतिक फड्को मारेर प्रतिव्यक्ति आय चार हजार डलर पुग्ने अवस्था भए पनि त्यस्तो हुन नसक्नुमा युवाहरूलाई राजनीतिकमा आउन झ्यालढोका नै बन्द गर्ने प्रवृत्ति जिम्मेवार रहेको बताए। 

सुझावित समाचार