उद्योगपति चौधरीले भने- देशको बेरोजगारी समस्या हल गर्न मेरो उम्मेदवारी

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि बिदेसिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। 

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरूको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे। 

उनले अब योजना र भिजन भएका युवाहरू राजनीतिमा आउनुपर्ने बताए। चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउन पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए। 

युवाले खोजेको रोजगारी र नेपाल बनाउन प्रत्यक्ष निर्वाचनमा उठेको दाबी गरे। चौधरीले आफूले चार्टर्ड अकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टको जमात हेर्दा आफू चुकेजस्तो लाग्ने बताए। 

उनले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताए। चौधरीले आफूलाई धन सम्पत्तिको कुनै खाँचो नरहे पनि जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहाेर्याए। 

उनले नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गर्दै देशमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबदलिएको बताए। 

सुझावित समाचार