इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका मिडफिल्डर इनोक वेपुले २४ वर्षमै खेलबाट सन्न्यास लिएका छन् । जाम्बियाका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका इनोकले मुटुमा देखिएको समस्याका कारण फुटबलबाट टाढा रहेको जनाएका छन् । वंशानुगत हृदयाघातका कारण खेलमा फर्कन समस्या हुने डाक्टरको सल्लाहअनुसार उनले सोमबार सन्न्यासको घोषणा गरेका हुन् । ब्राइटनले विज्ञप्ति निकाल्दै इनोकले फुटबल खेल्दा घातक हृदयाघातको उच्च जोखिम रहेको जनाएको छ । ब्राइटनका म्यानेजर रोबर्टाे डी जाब्रीले भनेका छन्, ‘म माफी चाहन्छु, इनोक ।’
सन् २०२१ जुलाईमा रेडबुल साल्जबर्गबाट १८ मिलियन पाउन्डमा ब्राइटनमा अनुबन्ध भएका इनोकले २७ खेल खेलेका छन् । इनोक केही समयअगाडि जाम्बियाको टोलीबाट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट निस्किएका थिए । मैत्रीपूर्ण खेलपछि उनी बिरामी परे । मालीमा अस्पताल छाडेसँगै इनोक थप चेकजाँचका लागि ब्राइटनको अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा इनोकको मुटुमा समस्या देखिएको थियो । ब्राइटनले सुरक्षाका लागि इनोकले फुटबल खेल्न बन्द गर्नुपर्ने सल्लाह दिएको छ । इनोकले थप उपचारपछि खेलमा फर्कन सक्ने आशा व्यक्त गरेका छन् । ‘फुटबलभन्दा जीवन ठूलो हो, हामीले इनोकको सुरक्षित जीवन बिताउनकै लागि फुटबल खेल्न बन्द गर्ने एउटै विकल्प रोजेका छौँ,’ क्लबले लेखेको छ ।
इनोकले आफ्नो करिअरमा प्रिमियर लिग खेल्ने सपना पूरा भएको बताए । ‘सानो जाम्बियन खेलाडीले एउटा सपना पूरा गरेको छ । उच्च स्तरको प्रिमियर लिग खेलेको छ । अब बुट थन्क्याउँदा सहज अवस्था पक्कै छैन,’ इनोकले ट्विट गरेका छन्, ‘यो यात्रा र अवसरका लागि सबैलाई धन्यवाद छ !’ उनी लेख्छन्, ‘मेरो खेल जीवनको यात्रा सकिएको छैन । मैले यहीँ संलग्न रहने योजना बनाएको छु । केही क्षमता यहाँ अझै बनाउँछु ।’