नाइजेरियामा डुंगा दुर्घटनामा परी ७६ जनाको मृत्यु

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण
नाइजेरियामा डुंगा दुर्घटनामा परी ७६ जनाको मृत्यु

दुर्घटना भएको अनाम्बराबाट झण्डै ३०० किलोमिटर टाढा रहेको जलमग्न मकुर्दी सहर । तस्बिर : राेयटर्स

नाइजेरियामा भएको डुंगा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको छ। दक्षिणी सहर अनाम्बरामा भएको सो डुंगा दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले पुष्टि गरेका छन्।

दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र यहाँका सबै सुरक्षा निकाय तथा उद्धारकर्मीलाई उद्धारका लागि लगाइएको राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार राति भएको सो दुर्घटनाप्रति राष्ट्रपति बुहारीले दुःख व्यक्त गरेका छन्। गत शुक्रबार ८५ जना यात्रु लिएर गएको डुंगा देशको दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो। त्यसमा रहेका अरू यात्रुको उद्धार गरिएको थियो।

त्यस समयमा आएको बाढीका कारण डुंगा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। नाइजेरियामा समयसमयमा डुंगा दुर्घटना हुँदै आएको छ। यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन्।

सुझावित समाचार