इन्टरनेट पहुँच नभएका कर्णालीका केही क्षेत्रबाहेक देशभरबाट प्रतिनिधिसभा सदस्यका लागि २,४९४ र प्रदेश सभा सदस्यका लागि ३,४२३ को उम्मेदवारी परेको छ । दुवैतर्फ गरी महिला उम्मेदवारको संख्या पाँच सय २८ मात्रै छ, जुन करिब नौ प्रतिशत हो ।


- प्रतिनिधिसभामा सबैभन्दा धेरै उम्मेदवार राप्रपाका
- उपत्यकाबाहिरका १९५ जनाको काठमाडौंबाटै उम्मेदवारी दर्ता
- गठबन्धनको समर्थनमा रुपन्देही– १ बाट घनश्याम भुसालको उम्मेदवारी
- स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दिए चितवन– २ बाट उम्मेदवारी
४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि देशभरबाट पाँच हजार नौ सय १७ जनाले उम्मेदवारी दिएका छन् । कर्णालीका कतिपय जिल्लामा इन्टरनेट पहुँच नभएका कारण केही क्षेत्रको विवरण प्राप्त भइनसकेकाले उम्मेदवारको संख्या केही बढ्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार चार सय ९४ र प्रदेश सभातर्फ तीन हजार चार सय २३ को उम्मेदवारी दर्ता भएको छ । यो विवरण आइतबार राति ११ बजेसम्म प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ ।
‘आइतबार उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा भयो,’ प्रवक्ता पौडेलले भने, ‘कर्णालीका कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा इन्टरनेट पहुँचका कारण केही क्षेत्रको विवरण आयोगले पाउन सकेको छैन ।’
मनोनयनका लागि बिहान १० बजेबाट साँझ ५ बजेसम्मको समय तोकिएको थियो । तर, ५ बजे निर्वाचन कार्यालयमा उपस्थित भएका उम्मेदवारको हकमा अबेरसम्म लगाएर पनि उम्मेदवारी दर्ता गरिएको थियो ।
उम्मेदवारीमा महिला र दलित सहभागिता भने न्यून देखिएको छ । संघ र प्रदेशतिर गरेर पाँच हजार नौ सय १७ जनाको उम्मेदवारी पर्दा महिला संख्या जम्मा पाँच सय २८ मात्रै छ । प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ६१ पुरुषले मनोनयन दर्ता गराउँदा महिलाको संख्या दुई सय ३३ छ । त्यस्तै, प्रदेश सभातर्फ तीन हजार एक सय २७ पुरुषले मनोनयन दर्ता गरेका छन्, जसमध्ये महिला दुई सय ९५ र अन्य एकजना छन् ।
आयोगले उम्मेदवारविरुद्ध उजुरी आह्वानको कार्यतालिका सोमबारका लागि तोकेको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न सकिने आयोगले जनाएको छ ।
१९५ उम्मेदवारले गरे आयोगको केन्द्रीय कार्यालयमार्फत उम्मेदवारी दर्ता
१९५ उम्मेदवारले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत उम्मेदवारी दर्ता गराएका छन् । बाढी, पहिरोलगायत कारण निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न नभ्याएका उम्मेदवारले केन्द्रबाटै नाम दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रतिनिधिसभातर्फ ७१ र प्रदेश सभातर्फ एक सय २४ गरी कुल एक सय ९५ उम्मेदवारको मनोनयन केन्द्रबाट भएको जानकारी दिए । ‘वर्षालगायतका कारण सम्बन्धित भौगोलिक क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गर्न नसक्नेहरूका लागि आयोगले सहजीकरण गरेको हो,’ उनले भने, ‘प्रतिनिधिसभातर्फ ७१ र प्रदेश सभातर्फ एक सय २४ उम्मेदवारको मनोनयनका लागि आयोगले सहजीकरण गरेको छ ।’
सम्बन्धित क्षेत्र पुगेर उम्मेदवारी दिन प्रतिकूल अवस्थामा रहेकाहरूलाई आयोगले केन्द्रबाटै सहजीकरण गरिदिने सुविधा दिएपछि त्यस्ता उम्मेदवारले कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा कागजात पेस गरेका थिए । ती कागजात स्क्यान गरी आयोगले सम्बन्धित निर्वाचन क्षेत्रमा पठाएको थियो । यसरी कागजात पेस गरेपछि उम्मेदवारका प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रबन्ध गरिएको थियो ।
आयोगको केन्द्रीय कार्यालयमा मनोनयनका लागि पुग्नेहरूमा मधेस, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशअन्तर्गतका तथा पार्टीबाट ढिला मात्रै टिकट टुंगो लागेका र स्वतन्त्र उम्मेदवार थिए । छक्कबहादुर लामासहितको एमाले हुम्लाको समूह, दाङ १ (ख)तर्फ कांग्रेसबाट उम्मेदवार रहेका अनुराग खड्का, सिन्धुली २ (क)बाट ढिलो गरी उम्मेदवारी टुंगो लागेका कांग्रेसका उम्मेदवार क्षेत्रबहादुर बमजनलगायतले आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनयन दर्ता गराए ।
समानुपातिकतर्फ ६,४९३ उम्मेदवार
समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेश सभातर्फ गरी ६ हजार चार सय ९३ उम्मेदवार छन् । आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४८ दलले दुई हजार चार सय ३६ को बन्दसूची बुझाएका छन् । त्यस्तै, प्रदेश सभातर्फ चार हजार ५७ को बन्दसूची पेस भएको छ ।
प्रदेश सभातर्फ प्रदेश १ मा ३६ दलबाट ६ सय ६१, मधेसमा ३६ दलबाट नौ सय ४८ र बागमतीमा ४१ दलबाट आठ सय २५ उम्मेदवारको नाम पेस भएको छ । त्यस्तै, गण्डकीमा ३१ दलबाट तीन सय ६८, लुम्बिनीमा ३२ दलबाट ६ सय ५७, कर्णालीमा २८ दलबाट दुई सय २२ र सुदूरपश्चिममा ३४ दलबाट तीन सय ७६ उम्मेदवारको बन्दसूची पेस भएको छ । प्रतिनिधिसभातर्फ ६४ एकल र १२ दलबाट चार संयुक्त निवेदनसहित ७६ दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए ।
१९५ उम्मेदवारले गरे निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत उम्मेदवारी दर्ता
१९५ उम्मेदवारले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत उम्मेदवारी दर्ता गराएका छन् । बाढी, पहिरोलगायत कारण निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न नभ्याएका उम्मेदवारले केन्द्रबाटै नाम दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रतिनिधिसभातर्फ ७१ र प्रदेश सभातर्फ एक सय २४ गरी कुल एक सय ९५ उम्मेदवारको मनोनयन केन्द्रबाट भएको जानकारी दिए । ‘वर्षालगायतका कारण सम्बन्धित भौगोलिक क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गर्न नसक्नेहरूका लागि आयोगले सहजीकरण गरेको हो,’ उनले भने, ‘प्रतिनिधिसभातर्फ ७१ र प्रदेश सभातर्फ एक सय २४ उम्मेदवारको मनोनयनका लागि आयोगले सहजीकरण गरेको छ ।’
सम्बन्धित क्षेत्र पुगेर उम्मेदवारी दिन प्रतिकूल अवस्थामा रहेकाहरूलाई आयोगले केन्द्रबाटै सहजीकरण गरिदिने सुविधा दिएपछि त्यस्ता उम्मेदवारले कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा कागजात पेस गरेका थिए । ती कागजात स्क्यान गरी आयोगले सम्बन्धित निर्वाचन क्षेत्रमा पठाएको थियो । यसरी कागजात पेस गरेपछि उम्मेदवारका प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रबन्ध गरिएको थियो ।
आयोगको केन्द्रीय कार्यालयमा मनोनयनका लागि पुग्नेहरूमा मधेस, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशअन्तर्गतका तथा पार्टीबाट ढिला मात्रै टिकट टुंगो लागेका र स्वतन्त्र उम्मेदवार थिए । छक्कबहादुर लामासहितको एमाले हुम्लाको समूह, दाङ १ (ख)तर्फ कांग्रेसबाट उम्मेदवार रहेका अनुराग खड्का, सिन्धुली २ (क)बाट ढिलो गरी उम्मेदवारी टुंगो लागेका कांग्रेसका उम्मेदवार क्षेत्रबहादुर बमजनलगायतले आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनयन दर्ता गराए ।
सबैभन्दा बढी उम्मेदवार उठाउने दल राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेलाई सहयोग गर्ने सहमति गरेका केही क्षेत्रबाहेक अन्य अधिकांश क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । एमालेलाई सघाउन सहमति भएको झापाका ४, रुपन्देहीका २ र बाँकेको १ गरी सात निर्वाचन क्षेत्रबाहेक अन्य लगभग सबै क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । यद्यपि, निर्वाचन आयोगले भने यसबारे सार्वजनिक गरिसकेको छैन । त्यस्तै, एमालेले भने झापा– ३ मा राजेन्द्र लिङ्देन, रुपन्देही– ३ मा दीपक बोहरा र बाँके– २ मा धवलशमशेर जबरालाई समर्थन गर्दै आफ्नो उम्मेदवार उठाएको छैन । ‘हाम्रोमा ७–८ क्षेत्रबाहेक अन्यमा तालमेलको सहमति भएको थिएन, त्यसैले अधिकांश सबै क्षेत्रमा उम्मेदवार उठाएका हौँ । अरू दलहरूले गठबन्धन गरेका कारण हाम्रो उम्मेदवार संख्या धेरै भएको हो,’ प्रवक्ता श्रेष्ठले भने ।
जो राजीनामा दिएर उम्मेदवार बने
विश्व पौडेल
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पदबाट राजीनामा दिएर प्रनिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनी वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस कोटामा चितवन १ मा उम्मेदवार बनेका हुन् । सार्वजनिक लाभको पदमा रहेर उम्मेदवार बन्न नपाइने कानुनी व्यवस्था भएकाले उनले उम्मेदवारी दर्ताअघि योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पौडेल उपाध्यक्षमा नियुक्त भएका थिए । चितवन १ मा एमालेबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् ।
डा. भोजराज अधिकारी
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट माओवादीको कोटामा डा. अधिकारीले चितवन ३ मा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्नुअघि अधिकारीले अस्पताल अध्यक्षबाट राजीनामा दिएका थिए । उनी तत्कालीन नेकपा नेतृत्वको सरकारका वेला भरतपुर अस्पतालको अध्यक्ष भएका थिए । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित भएका थिए ।
पोषण थापा
यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख पोषण थापा पनि पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । महोत्तरी १ बाट उनले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टीहरूप्रति जनता निराश भएकाले स्वतन्त्र उम्मेदवारी दिएको उनको दाबी छ । स्वतन्त्र समूहबाटै प्रदेश सभातर्फ महोत्तरी १ (क)मा युवराज पोखरेल र (ख)मा विनोद महतो उम्मेदवार बनेका छन् । प्रतिनिधिसभामा महोत्तरी १ मा सत्तारूढ गठबन्धनबाट माओवादीका गिरिराजमणि पोखरेल र एमालेबाट लक्ष्मी महतो उम्मेदवार छन् ।
उम्मेदवारी दर्तापछि शीर्ष नेताले के भने ?
जनविरोधी गठबन्धनलाई पछार्छौँ : केपी ओली

अब ४ मंसिरको निर्वाचनपछि जनताको आदेश नभएको, जनविरोधी, देशघाती गठबन्धनलाई पछारेर फेरि हामीले देशभक्त लोकतान्त्रिक विकासको अभियन्ता सरकार बनाउनुपर्नेछ । यो निर्वाचनले ठूलो फैसला लिनुपर्नेछ । यसका लागि सबै तयार हुनुपर्छ । देश विकास गर्यौँ । गुमेको भूभाग फर्काएर नक्सा सार्वजनिक गर्यौँ । नक्सा अनुमोदन गरेर संवैधानिक रूप दियौँ । उनीहरूले आफ्ना निम्ति काम गर्ने आरामदायी सरकार भइदिन्छौँ भनेर कबुल गरेर सरकार बनाए ।
आजबाट नेपालमा आर्थिक
क्रान्ति सुरुवात गर्ने दिन : प्रचण्ड
आजबाट नेपालमा आर्थिक क्रान्तिको सुरुवात गर्ने दिन हुने विश्वास गरेका छौँ । हामीले केपीसँग मिलेर केही नयाँ गर्छौँ भन्ने लागेको थियो । तर, काम लागेन । गिरिजाप्रसाद कोइरालासँग मिलेर शान्ति प्रक्रियामा गणतन्त्रसम्म पुग्यौँ । हामी (माओवादी–कांग्रेस) मिल्दा नयाँ क्रान्ति हुन्छ ।
केही गर्न बाँकी भएकैले उम्मेदवारी : रामचन्द्र पौडेल
केही काम बाँकी छ भनेर नै यो उमेरमा सक्रिय राजनीतिमा छु । केही गर्ने मिसन पूरा गर्न बाँकी छ । त्यसैले म तपाईंहरूको अघि छु ।
विजयमा कुनै द्विविधा छैन : ईश्वर पोखरेल
निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै द्विविधा छैन । त्यसको आधार हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन् । हामीले जनताको मन जित्ने काम गरेका छौँ ।
जनताकै इच्छाअनुसार रौतहट– १ रोजेको हुँ : माधव नेपाल
रौतहट– १ म जन्मेको, पढेको, राजनीति सुरु गरेको ठाउँ हो । यसअघि काठमाडौं रोज्दा मलाई यहाँका जनताले तपाईं फेरि यहाँ आएर उठ्नुपर्छ भन्नुभएको थियो । त्यसैले आलोपालो गर्दै यसपटक रौतहट– १ बाट उठ्न लागेको हुँ । हामीले उठाउनैपर्ने, सहमति गर्नैपर्ने भए पनि गठबन्धनले गर्दा कतिपय योग्य, जित्न सक्ने, सक्षमहरू छुट्नुभएको छ । तर, उहाँहरूको पार्टीप्रतिको आस्था र निष्ठा कायमै छ ।
मूल ड्राइभिङ सिटमा बस्न उम्मेदवारी : गगन थापा

मेरो प्रयत्न त यहाँसम्म नेपालका राजनीतिक दलहरूले ल्याउनुभएकोमा उहाँहरूलाई धन्यवाद दिँदै, उहाँहरूलाई आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने हो । आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला । तर, मेरो आफ्नो उम्मेदवारी यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रूपमा गर्ने अरू जिम्मेवारी छँदै छ । यसपटक नेपाल सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु ।
जित सुनिश्चित गर्न सूर्य चिह्न रोजेँ : कमल थापा
मैले एमालेको साथ पाउनु खुसीको कुरा हो । मैले जित सुनिश्चित गर्न सूर्य चिह्न रोजेको हुँ । जित्न मात्रै नभएर राष्ट्रिय आवश्यकतालाई बुझेर हामी एकताबद्ध भएका छौँ ।