ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरुयोजना नभएको बताएकी छिन्।
बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धिलगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन्।
मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरू राखेर बृहत् गुरुयोजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन्।
उनी अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन्।
सरकार, राजनीतिक दलहरूले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरुयोजना बनाउनु आवश्यक रहेको बताइन्।
विकास विज्ञहरूसहित नेपालको नक्सा राखेर पूर्व - पश्चिम द्रुत मार्ग, रेलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्ने कुराको हेक्का राखेर गुरुयोजना बनाउनुपर्नेमा जोड दिइन्।
मन्त्री भुसालले नेपालको सार्वजनिक खरिद ऐन अनुसार ठूला विकास आयोजनाहरूमा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताइन्।