४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लेखक तथा राजनीतिक विश्लेषक युग पाठक झापा आएका छन् । उनी झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । यो निर्वाचन क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो ।
पाठकले ओलीसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिने उद्घोष गरेका पाठक अहिले झापा क्षेत्र नम्बर ५ मा आन्तरिक भेटघाट र आफ्नो उम्मेदवारीबारे छलफल गरिरहेका छन् । ‘चुनावी अभियानका क्रममा झापामा पाएको साथ र सहयोगले थप प्रेरणा मिलेको छ,’ पाठकले नयाँ पत्रिकासँग भने । नयाँ राजनीतिक दर्शनको सुरुवात गर्नका लागि आफ्नो उम्मेदवारी रहेको पाठकले बताए ।
‘वैचारिक अन्धकारमा छटपटाइरहेको राजनीतिमा नयाँ विचारको बत्ती बाल्नका लागि हामी आएका छौँ । राजनीतिमा अहिले विचारको खडेरी छ । त्यसैले हामीसँग भएको संसद्मा विचारको हस्तक्षेप गर्नु जरुरी भयो,’ उनले भने,‘जनताको राजनीतिलाई जनताकै घरदैलोमा पुर्याउने, जनताकै रैथाने सत्ताहरू स्थापना गर्ने र भूँइको शक्तिबाट संसारमा हस्तक्षेप गर्ने कामका निम्ति झापा क्षेत्र नं. ५ मा चुनाव लड्नेछौं । निदाइरहेको र बेकम्मा भइरहेको संसद्लाई जगाएर असफल राजनीतिलाई जनताको सेवामा सक्रिय हुने राजनीतिमा बदल्ने हो, जनतालाई राजनीतिक स्वतन्त्रता दिलाउन भगीरथ प्रयत्नमा जुटेका छौं ।’
उनले अहिले राजनीतिक विचार र दर्शको संकट भएको बताए । नयाँ राजनीतिक दर्शनको सुरुवात उज्यालोको प्रतिक लालटिन लिएर जनताको घरघरमा गएर सुरुवात गर्ने उनको भनाइ छ । ‘ अहिलेको दार्शनिक संकटबाट बाहिर निस्कनका निम्ति नयाँ ज्ञान, नयाँ वैज्ञानिक दर्शन/विचारको आवश्यकता छ र त्यही ज्ञान÷विचारको उज्यालोमा नयाँ राजनीति र नयाँ समाज स्थापना गर्नुको विकल्प छैन । अब त यो शासकीय अहंकार वा शक्तिको मात्रै कुरा रहेन, प्रत्येक व्यक्ति र प्रकृतिको अस्तित्वको सवाल हुन आयो,’ उनले भने, ‘अहिले हामी प्राविधिक काम गर्दैछौँ । केही दिनमा जनताको घरघरमा लालटिन लिएर पुग्छौँ ।’
झापाबाट सुरु भएको यो नयाँ वैचारिक आन्दोलन देशभर लैजाने योजना पाठकले सुनाए । उनले अब जनताको शीर उच्च राख्ने राजनीतिक विचारको खाँचो भएको बताए । ‘स्थानीय स्रोत, स्थानीय ज्ञान, स्थानीय उत्पादनमा जोड दिनुपर्छ । संसारबाट सिक्ने र चाहिने ज्ञान तथा साधन ल्याउने छँदैछ । तर, एउटा शीर उठेको समाज र देशले मात्र संसारबाट सिक्न र आफ्नो भविष्यको खाका आफैं कोर्न सक्छ । शीर निहुरेको समाजले केही गर्न सक्दैन,’ पाठकले भने ।
उनले ओलीको निर्वाचन क्षेत्र नै रोज्नुको कारण प्राविधिक मात्र भएको बताए । यद्यपि ओली पुरानो राजनीतिक विचारको प्रतिक भएको बताए । ‘ओली पुरानो राजनीतिक विचारको प्रतिक हो । अब यो पुरानो राजनीतिक विचारले जनताको शीर उठ्दैन । त्यही भएर जनताको राजनीतिक जनतातिर फर्काउने अभियान यहीँबाट सुरु गरिएको हो,’ उनले भने, ‘फेरि म झापाको पृथ्वीनगरमै हुर्किएको हुँ । त्यही भएर झापालाई नै रोजेँ ।’