अनु लामालाई अझै पनि याद छ, पहिलो महिला साफ प्रतियोगितामा नेपालले ३४ गोल गर्दा भारतसँग मात्र एक गोल व्यहोरेको । त्यही एक गोल मात्र गोलपोस्टमा खाएको दिन नेपाल पहिलो महिला साफ च्याम्पियनसिप–२०१० को विजेता हुनबाट वञ्चित भयो । उपाधि भिडन्त यात्रासम्म नेपालले पाँच खेल खेल्यो । समूह चरणमा तीन र सेमिफाइनल एक । प्रतियोगिताको फाइनल यात्रासम्म नेपाली टोलीलाई कुनै पनि टोलीले हराउन सकेन । विपक्षीले हराउन त के गोलसमेत फर्काउन सकेनन् । नेपालले फाइनलसम्म पुग्दा ३४ गोल गर्यो । तर, भारतसँग फाइनलमा एक गोल बेहोर्दा उपाधि जित्ने सपना साकार पार्न सकेन ।
नेपालले समूह ‘बी’को पहिलो खेलमा माल्दिभ्सलाई ६–० र दोस्रो खेलमा अफगानिस्तानलाई १३–० ले पराजित गर्यो । समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १२–० ले हराएको नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई ३–० ले निराश बनायो । एक हिसाबले नेपाली टोली अन्य प्रतिस्पर्धीका लागि निकै घातक बन्यो ।
नेपाली टोली झापा र काठमाडौंको अभ्यासपछि बंगलादेश पुगेको थियो । प्रशिक्षक थिए ध्रुव केसी र कप्तान जमुना गुरुङ थिइन् । त्यसवेलाको नेपाली टोली एकजुट थियो । तालमेल राम्रो थियो । गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर पक्ष चुस्त देखिए । समूह चरणसहित सेमिफाइनलमा विपक्षीलाई सहजै पन्छाएको नेपालले बलियो भारतलाई समेत फाइनलमा पराजित गर्ने योजना बनाएको थियो । खेलाडीको मनोबलसमेत उच्च थियो ।
खेलाडी पहिलो उपाधि जित्नेमा आशावादी थिए । रणनीतिअनुसार पहिलो हाफमा नेपालले भारतलाई दबाबमा राख्दै गोलरहित बराबरीमा रोक्न सफल भयो । दोस्रो हाफमा समेत नेपालले भारतीय रक्षापंक्तिमा दबाब बढायो । ६७औँ मिनेटमा पाएको फ्रिकिकलाई भारतले लगभग ३० यार्डबाट सदुपयोग गर्दै अग्रता लियो । यसपछि नेपाली टोली खेलमा फर्कन सकेन । सुस्मिता मालिकको गोलमा भारतले नेपाललाई हराउँदै उपाधि चुम्यो ।