चार वर्ष लामो अनुसन्धानपछि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा दर्ता गर्यो ४२७ पृष्ठ लामो अभियोगपत्र
सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसांसदसमेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले बिहीबार तामाङपत्नी सिर्जना शाक्य तामाङ, छोरीहरू प्रतीक्षा र प्रतिष्ठा, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
मुद्दामा विभागले पाँचजनासँग चार अर्ब ७० करोडको बिगो र सम्पत्ति जफतको माग दाबी गरेको छ । मुद्दामा विभागले चार वर्ष लामो अनुसन्धान गरेको छ । विभागले अदालतमा पेस गरेको अभियोगपत्र नै चार सय २७ पृष्ठ लामो छ । तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा छानबिनका लागि चार वर्षअघि नै उजुरी परेको थियो । ठगी तथा संगठित अपराधमा गत पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तामाङसहित उनकी पत्नी, हालका अध्यक्ष श्रेष्ठसहित ४२ जनालाई प्रतिवादी बनाएर गत मंसिरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ठगीसम्बद्ध कसुर स्थापित भएपछि विभागलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा सहज भएको थियो । विभागले गत फागुनमै छानबिन टुंग्याएर फाइल विशेष सरकारी वकिल कार्यालयमा पठाएको थियो । गत १ भदौमा विभागबाट रायसहित अन्तिम सहमति आएपछि विभागले मुद्दा अघि बढाएको हो ।
‘तामाङ र श्रेष्ठले कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरणसमेतका निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरणको असुर अपराध गर्ने इच्छित मनसायले परिवारका सदस्यहरूबीच अंशबन्डासमेत गरी आफू र परिवारका सदस्यहरू संलग्न रहेका सिभिल होम्स प्रालिलगायतका विभिन्न व्यावसायिक कम्पनीमार्फत घरजग्गाको कारोबारसम्बन्धी व्यवसायमा सो गैरकानुनी स्रोतको रकम लगानी गरी त्यस्ता व्यावसायिक कार्यहरूबाट थप सम्पत्ति आर्जन गरी अन्य प्रतिवादीहरू सिर्जना शाक्य तामाङ, प्रतिष्ठा तामाङ, प्रतीक्षा तामाङ र मीनाकुमारी श्रेष्ठसमेतका नामबाट कारोबार गर्ने तथा सम्पत्ति लुकाइछिपाई सम्पत्ति शुद्धीकरणको कसुर गरेको पुष्टि हुन आयो,’ विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा आयोगले भनेको छ ।
१५ सयभन्दा बढी निक्षेपकर्ता ठगिए
विभागका अनुसार सिभिल सहकारीमा तामाङले आर्थिक तथा वित्तीय अराजकता नै मच्चाएका थिए । यो कुरा उनीविरुद्ध परेका एक हजार पाँच सयभन्दा बढी निक्षेपकर्ताले गरेको ठगीको उजुरीबाट पनि पुष्टि हुन्छ । ‘निक्षेपकर्ताको पैसामा उनले हद नाघेर राइँदाइँ गरे,’ विभाग स्रोत भन्छ । विभाग स्रोतका अनुसार बढी ब्याजको प्रलोभनमा फसाएर तामाङले उच्चपदस्थ कैयौँलाई बिल्लीबाठ बनाएका छन् । बढी ब्याजको प्रलोभन देखाएर निक्षेपकर्ताबाट सहकारीमा रकम जम्मा भएको रकम उनले मूलतः पत्नी र छोरीहरूका नाममा कम्पनी खोलेर घरजग्गा, सेयरलगायतमा व्यापक लगानी गरी अपलचन गरेका थिए ।
तामाङले सहकारीको कोषबाट ४० भन्दा बढी कम्पनी खडा गरेर त्यसमार्फत घरजग्गालगायतमा लगानी गरेका थिए । ती कम्पनीले विनाधितो अन्धाधुन्ध लगानी प्रवाह गरिएको देखिएको विभाग स्रोत बताउँछ । ठूलो परिमाणमा जग्गा किन्दा हदबन्दी छल्न उनले धेरै कम्पनी खडा गरेका थिए । ‘एउटा कम्पनीका नाममा सहकारीबाट ऋण ल्याउने, त्यो लुकाउने, अर्को कम्पनी खडा गर्ने, त्यो पनि लुकाउने, विनाधितो सहकारी कोषबाट रकम प्रवाह गर्नेजस्ता गतिविधि देखिन्छ,’ विभाग स्रोत भन्छ ।
तामाङको आफ्नै नाममा भने तीन आना मात्र जग्गा देखिएको विभाग बताउँछ । सबै सम्पत्ति उनले पत्नी, छोरीलगायतका नाममा परिचालन गरेका थिए । ठगीको रकम परिचालनका लागि उनले छोरीहरूलाई अंशबन्डासमेत गरिदिएका थिए । प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम मुद्दा दायर भएको छ । स्रोत खुल्न नसकेको सम्पत्तिको गैरकानुनी स्रोतको रूपान्तरण, परिवर्तन हस्तान्तरणलगायत निषेधित कार्य एवं गतिविधि गरेको विभागको दाबी छ । तामाङविरुद्धको ठगी मुद्दा अहिले जिल्ला अदालतमा विचाराधीन छ । त्यही मुद्दामा तामाङसहित प्रतिवादीहरू अहिले पनि पुर्पक्षका लागि जेलमा छन् ।
कोविरुद्ध कति बिगो/जफत ?
इच्छाराज तामाङ – विभागले तामाङसँग मात्रै तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँको बिगो दाबी गरेको छ । उनको एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता सेयरसमेतको जफत दाबी गरिएको छ ।
सिर्जना शाक्य तामाङ (पत्नी) – शाक्यविरुद्ध एक अर्ब तीन करोड ५४ लाख ४३ हजार बिगो कायम भएको छ । उनको नाममा रहेको एउटा सवारीसाधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त जग्गासमेत जफतको माग दाबी विभागले गरेको छ ।
दुई छोरी – छोरीहरू प्रतीक्षा र प्रतिष्ठाविरुद्ध क्रमशः ६ करोड २२ लाख ३३ हजार र एक करोड ८९ लाख १८ हजार बिगो दाबी गरिएको छ । उनीहरूको नाममा रहेको घरजग्गा, विभिन्न कम्पनीको सेयरसमेत जफतको माग दाबी विभागले गरेको छ ।
केशवलाल श्रेष्ठ – सहकारीको हालका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख ४५ हजार बिगो दाबी गरिएको छ । उनको नाममा रहेको बैंक मौज्दात, सवारीसाधन र विभिन्न कम्पनीको सेयर जफत गर्न विभागले भनेको छ ।
मीनाकुमारी श्रेष्ठ - श्रेष्ठविरुद्ध भने काठमाडौंका विभिन्न स्थानमा रहेको सात कित्ता जग्गासमेत जफत गर्नुपर्ने विभागको दाबी छ ।