इतिहासकारले शोधका माध्यमबाट आफ्नो विधालाई जोखिम र इतिहासलाई ‘राजनीतिक सान्दर्भिकता’का नाममा पीडित बनाइरहेका छन्
सन् १९८९ मै इतिहासको अन्त्य हुनुपर्ने हो किनभने त्यस वर्ष बर्लिनको पर्खाल भत्किएको थियो र फ्रान्सिस फुकुयामाले उदार लोकतन्त्रको निर्णायक विजय भएको घोषणा गरेका थिए । यस मान्यताले के कति काम गर्यो भन्नेबारे हामी जानकार नै छौँ । तर, जब प्राज्ञिक इतिहास पतन हुन थाल्छन्, तब के हुन्छ होला ? यही प्रश्न अमेरिकन हिस्टोरिकल एसोसिएसनका अध्यक्ष एवं विस्किनसन म्याडिसन विश्वविद्यालयका इतिहासका प्राध्यापक जेम्स एच स्विटले एसोसिएसनकै जर्नलमा ‘इज हिस्ट्री हिस्ट्री ?’ अर्थात् ‘के इतिहास इतिहास हो ?’ भन्ने शीर्षकमा लेख लेखेका थिए । लेखले खासै राम्रो प्रतिक्रिया पाएन । ‘आइडेन्टिटी पोलिटिक्स एन्ड टेलियोलोजिज अफ द प्रेजेन्ट’ (पहिचानको राजनीति एवं वर्तमानको उद्देश्यपरकता) उपशीर्षक रहेको सो लेखमा स्विटले ‘वर्तमानवादतर्फको प्रवृत्ति’बारे लेखेका छन् ।
लेखले अमेरिकी इतिहासलाई दासता अश्वेतका कोणबाट पुनर्खोज गर्ने उद्देश्यले बनेको न्युयोर्क टाइम्सको १६१९ प्रोजेक्ट (योजना) को मध्यम आलोचना र हालै गर्भपतनको संवैधानिक मान्यतालाई उल्ट्याउने निर्णय गरेका न्यायाधीशमध्येका क्लेरेन्स थोमस र साम्युअल एलिटो घोचपेच गरेको छ । त्यति मात्र नभई लेखले ‘खराब इतिहासले खराब राजनीति’ निम्त्याउने चेतावनी दिएको छ । लेख प्रकाशित भएलगत्तै वामपन्थी प्राज्ञ वृत्तबाट स्विटको चर्को आलोचना भएको थियो । दुई दिनमै स्विटले ‘आफ्नो भद्दा उक्साहट’ले आफ्ना केही ‘अश्वेत सहकर्मी र साथीलाई आफूबाट टाढा बनाएको’ले माफी मागेका छन् । वास्तवमा हामी स्विटका लागि दुःखी छौँ किनभने सम्भवतः उनले हालको क्यान्सिल कल्चर (तर्क मन नपर्दा तर्क गर्नेलाई गरिने खारेजीको संस्कृति) मा माफी माग्नु भनेको गल्ती स्विकार्नु हो भन्ने बुझेका छैनन् । त्यसभन्दा पनि दुःखको कुरो के छ भने लेखको प्रतिक्रियाले धेरै महत्वपूर्ण विषयलाई ओझेलमा पारिदिएको छ ।
लेखले सन् २००३ देखि २०१३ सम्ममा सन् १८०० अगाडिका कालखण्डबारे विद्यावारिधिको शोध गर्ने शोधकर्ता घटिरहेको पाइएको बताएको छ । लेखकका अनुसार अर्कातर्फ इतिहासकार यस्ता काम गरिरहेका छन्, जुन ‘समकालीन बहसमा गएर असरल्ल हुने गर्छन्’ र समकालीन विषय मूलतः पहिचानको राजनीतिसँग जोडिएका छन् । शोधकर्ताले ‘तयार गरेको नयाँ इतिहासले प्रायः तत्कालीन समय एवं परिवर्तन भइरहेका समयका मानिसको मूल्य एवं मान्यतालाई बेवास्ता गर्छ, जसले इतिहासकारलाई आफ्नै विधाबाट हटाइदिन्छ,’ स्विट लेख्छन् ।

अर्को भाषामा भन्ने हो भने इतिहासकार आफ्ना शोधका माध्यमबाट आफ्नो विधालाई जोखिममा र इतिहासलाई ‘राजनीतिक सान्दर्भिकता’का नाममा पीडित बनाइरहेका छन् । उनले पेस गरेको प्रमुख उदाहरणमा घानाको एल्मिना दरबार रहेको छ र यो दरबार एट्लान्टिक महासागरबाट हुने दास व्यापारको मुख्यस्थल रहेको थियो । र, हालका दिनमा दास बनाइएका आफ्ना पुर्खा सम्झिनका लागि यो ठाउँलाई अफ्रिकी अमेरिकीले तीर्थस्थलका रूपमा हेर्छन् । तर, अफ्रिकी इतिहासकारसमेत रहेका स्विटका अनुसार एल्मिना दरबारबाट दास व्यापार भए पनि अमेरिकामा भने तत्कालीन समयमा दासको आपूर्ति निकै कम थियो अर्थात् एक प्रतिशतको हाराहारी मात्रै थियो । त्यसमा पनि श्वेत व्यापारीलाई बेच्न तयार पारिएका अश्वेत दासलाई सुरुमा अफ्रिकाका अश्वेत दलालले नै उपलब्ध गराउँथे र यी दलाल युरोपियन गोराजत्तिकै क्रूर र लोभी थिए ।
यी तथ्यले दास व्यापार वा अमेरिकाको अतीत एवं वर्तमानमा दासत्वको प्रभावलाई कम आँकेको भन्ने देखिँदैन । तर, वैश्विकस्तरमा पीडित र पीडक रंगकै कारण शतप्रतिशत छुट्टिन्छन् भन्ने मान्यतामा सोच्न बाध्य बनाउँछ । यदि यसले समकालीन रुढिवादितालाई चुनौती दिन्छ भने त्यो अवस्था इतिहासको सरल बुझाइबाट आएको हो । एक इतिहासकारको सच्चा भूमिका भनेको ऐतिहासिक घटनाक्रमलाई सरल नभई जटिल बनाउने हो, किनभने हामीलाई ऐतिहासिक घटनालाई तत्कालीन समय परिस्थितिअनुसार चित्रण गर्नुपर्ने हुन्छ ।
इतिहासका अद्वितीय घटना आममानिसमाझ ल्याउनु इतिहासकारको मुख्य काम हो । इतिहासकारले ऐतिहासिक घटनालाई नैतिक आग्रह वा धारणाबाट हेर्नु वाञ्छनीय हुँदैन । बरु ऐतिहासिककालका मानिसले हालका मान्यता, अपेक्षा, अनुभव र मूल्यको लाभ (वा बोझ) विनै निर्माण गरेको ज्ञानलाई प्रयोग गरेर हामीलाई अहिलेको कालखण्डमा सही निर्णय लिन सघाउनेछ । अर्थात् हामीले अहिले मन पराएका विचार तत्कालीन समयमा अनौठो वा घृणास्पद पनि लाग्न सक्छ । यो सबले स्विटले इतिहासलाई राजनीतिक नाफाघाटाका लागि प्रमाणका रूपमा प्रयोग गर्ने अस्त्र बनाइएको भन्ने दुखेसोलाई बुझ्न सघाउँछ होला । लेखमा आफ्नो उदार चरित्रलाई प्रस्ट पारेका स्विटले केही तयारी अवस्थामा रहेका प्रगतिशीललाई क्रुद्ध बनाएको छ । कसैलाई आधुनिक प्राज्ञिक क्षेत्र शोध वा बौद्धिकताको आवरणमा आधारभूत रूपमै वैचारिक एवं बाध्यकारी अभ्यास बनेको छ भन्ने लाग्छ भने स्विटको लेखको आलोचना प्रकरणलाई हेर्दा पर्याप्त हुन्छ । स्विट अमेरिकन हिस्टोरिकल एसोसिएसन (एएचए) को पदमा टिक्न सक्छन् वा सक्दैनन् भन्ने विषय रोचक हुने देखिन्छ ।
एएचएको उपलब्ध तथ्यांकअनुसार सन् २०१९ मा केवल नौ सय ८६ जनाले मात्रै इतिहासमा विद्यावारिधि गरेका छन्, जुन दशकमै एक हजारभन्दा मुनि झरेको हो । तैपनि, यी शोधकर्ताको यो संख्या उपलब्ध रोजगारीका अवसरभन्दा दुई गुणाले बढी हो । सान्दर्भिक रहने हतास प्रयासमा एक प्राज्ञिक विधा त्यस्तो विषय बन्ने प्रयास गर्छ, जुन त्यो विधा होइन भने विधा थप अप्रासंगिक बन्छ । यदि मानिसले इतिहास कसरी समाप्त हुँदै छ भनेर प्रश्न गरे, उत्तर माथिको पंक्तिमा भेटिनेछ ।
(स्टेफेन्स न्युयोर्क टाइम्सका स्तम्भकार हुन्)
न्युयोर्क टाइम्सबाट