युएस ओपन : हिराको जुत्ता लगाएर खेलिरहेकी छिन् सेरेना

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

दुई जुत्तामा चार सय हिरा जडित

अमेरिकी टेसिन स्टार महिला खेलाडी सेरेना विलियम्स करिअरकै अन्तिम ग्रान्डस्लाम प्रतियोगिता युएस ओपनमा सहभागिता जनाइरहेकी छिन् । वर्षको अन्तिम ग्रान्डस्लाममा उनले पहिलो चरणमा सानदार जित निकालिन् । युएस ओपनको प्रत्येक खेलमा सेरेनाको खेल निकै चासोपूर्वक हेरिनेछ । एक खेलमा पराजित हुँदा टेनिस खेलकै महान् खेलाडी सेरेनाको करिअर समाप्त हुनेछ । यसै कारण पहिलो चरणको खेलमा उनको खेल हेर्न २२ हजार दर्शकको उपस्थिति थियो । 

खेलसँगै सेरेनाको अर्को पक्ष पनि चर्चा भइरहेको छ । त्यो हो, उनले लगाएको हिराको जुत्ता । जसमा स–साना चार सय वटा हिराका टुक्रा जडित छन् । २३ पटक ग्रान्डस्लाम च्याम्पियन सेरेनाले पहिलो चरणमा हिराजडित जुत्ता लगाएकी थिइन् । जसका कारण खेलभन्दा पनि जुत्ताको चर्चा अहिले चुलिएको छ । सेरेनाले भाइरल बनेको जुत्ता नाइकको लगाएकी थिइन् । 

यसअघि उनी आफ्नै डिजाइनको ड्रेसमा उत्रिँदा चर्चामा आएकी थिइन् । उनकी पाँच वर्षीया छोरी ओलम्पियाले समेत आमाको जस्तै पहिरन लगाएको दृश्य ‘भाइरल’ बनेको थियो । युएस ओपन महिला पहिलो चरणमा सेरेनाले मोन्टेनिग्रोलाई ६–३ र ६–३ को सोझो सेटमा हराएकी थिइन् । उनको खेल हेर्न अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, मार्टिना नवरातिलोभा, माइक टाइसनका साथै सेरेनाका बुबा, दिदी र छोरी थिइन् । 

१६ वर्षमै युएस ओपन विजेता
सेरेनाले सन् १९९९ मा १६ वर्षको उमेरमा युएस ओपन उपाधि जितेकी थिइन् । खेल जितेपछि सेरेनाले भनेकी थिइन्, ‘जब कोर्टमा आएकी थिएँ, तब समर्थकले जुन तरिकाले स्वागत गरे, त्यसले निकै खुसी छु । म यो कहिल्यै भुल्न सक्दिनँ ।’ १७ वर्षको उमेरमा पहिलो खेल जित्दासमेत सेरेनाले आफ्नो कपालमा मोती लगाएकी थिइन् । ४० वर्षको उमेरमा समेत हिराको जुत्ता लगाउँदै सेरेनाले अन्तिम प्रतियोगिता यादगार बनाएकी छिन् । ४० वर्षीया सेरेनाले महिला टेनिस जगत्मा थुप्रै कीर्तिमान आफ्नो नाममा राखेकी छिन् । उनले ३२ वर्षको उमेरपछि ६ ग्रान्डस्लाम उपाधि हात पारेकी थिइन्, जुन आफैँमा कीर्तिमान बन्यो । 

गर्भवती अवस्थामै अस्ट्रेलियन ओपन उपाधि
युएस ओपनमा डेब्यु गर्दा सेरेनाको उमेर १६ वर्ष मात्र थियो । त्यसको एक वर्षपछि उनले उपाधि नै हात पारिन् । सन् १९९८ मा उनले ग्रान्डस्लाममा सहभागिता जनाइन् । सन् १९९९ पछि उनले जतिपटक ग्रान्डस्लाम उपाधि हात पारिन्, ती सबै रेकर्डका रूपमा रह्यो । २२ वर्षको उमेरमा सेरेनाले वर्षमा आयोजना हुने चारवटै ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । 

सन् २०१६ मा उनी गर्भवती थिइन् । गर्भवती अवस्थामै उनले अस्ट्रेलियन ओपन हात पारिन् । सन् २०१७ मा ओलम्पियालाई जन्म दिएपछि सेरेना केही समय कोर्टबाट बाहिर रहिन् । 

See More On

सुझावित समाचार