अर्जुनको केन्याविरुद्ध सानदार डेब्यु

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली क्रिकेटमा युवा खेलाडीको बाहुल्यता बढ्दो छ । उमेर समूहमा मात्रै होइन, राष्ट्रिय टोलीका अधिकांश खेलाडी युवा छन् । यही टोलीमा थपिएका छन्, १९ वर्षीय अर्जुन साउद । अर्जुनले आइतबार मात्रै नेपाली टी–२० टोलीबाट डेब्यु क्याप लगाए । केन्याको नैरोबीस्थित जिमखानामा भएको तेस्रो टी–२० मा डेब्यु गरेका अर्जुनले यस खेललाई अविस्मरणीय बनाएका छन् ।

केन्यालाई चार विकेटले पराजित गर्दा ओपनरका रूपमा अर्जुनले खुलेर खेले । ३१ बलको सामना गरेका अर्जुनले दुई चौका र तीन छक्कासहित ३५ रनको योगदान गरे । नेपाल ७७–१ को स्थितिमा रहँदा अर्जुन विराज पटेलको बलमा बोल्ड भएका थिए । नेपाल आएको तीन वर्षभित्र नै अर्जुनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । गत साता मात्र अर्जुन विकेटकिपर ब्याट्सम्यानका रूपमा केन्याविरुद्ध तीन एकदिवसीय र पाँच टी–२० शृंखला खेल्न केन्या प्रस्थान गरेका थिए ।

 मुम्बईमा स्थानीय लिगमै सीमित
उनको जन्म भारतको मुम्बईमा भएको हो । अर्जुनले पढाइसँगसँगै मुम्बईमै क्रिकेट पनि सिके । मुम्बईको स्थानीय लिगमा उनले राम्रो प्रदर्शन गरिरहेका थिए । राम्रो हुँदाहुँदै पनि उनलाई माथिल्लो तहका प्रतियोगितामा सहभागी गराइएन । ‘मैले मुम्बईमा राम्रो गरेको थिएँ । ६ खेलमै ४ सय ५० रन बनाएको थिएँ । तर, मैले माथिल्लो लेभलको क्रिकेट खेल्न पाइनँ,’ दायाँहाते ब्याट्सम्यान अर्जुनले नयाँ पत्रिकासँग भने, ‘यसपछि नेपाल आएँ ।’

धनगढी प्रिमियर लिग (डिपिएल)का आयोजक अध्यक्ष सुभाष शाहीले सन् २०१७ मा मुम्बई पुगेको वेला अर्जुनलाई नेपाल आएर खेल्न आग्रह गरेका थिए । शाहीले अर्जुन नेपाल आउँदा सबै हेरिदिने वचन दिएका थिए । ‘उहाँ (सुभाष दाइ)ले नेपालबाट खेल्दा राम्रो हुन्छ भनेपछि आएको हुँ । धनगढीमै अभ्यास गरेँ । सुदूरपश्चिमबाटै लिग खेलेँ,’ अर्जुनले विगत सम्झिए । 

 मुम्बईको अनुभव काठमाडौंमा
नेपाल आएपछि पहिलोपटक काठमाडौंमा भएको प्रतियोगितामा अर्जुनले मुम्बई एकेडेमीको अनुभव मैदानमा देखाए । अर्जुनले पाँच इनिङ्समा २ सय ४१ रन बनाए । प्रतियोगितामा उनी दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि अर्जुनलाई यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक वसन्त शाहीले टोलीमा समावेश गरे । गत डिसेम्बरमा भएको यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रन बनाए । यसै प्रदर्शनको मद्दतमा अर्जुनलाई सिनियर टिममा स्थान बनाउन धेरै समय कुर्नुपरेन । ‘मलाई थाहा थियो, म कुन स्तरको खेलाडी हो भनेर । मैले नराम्रो भएको खेलमा कहिल्यै हार मानिनँ । गल्ती भएको ठाउँमा सुधार गर्दै गएँ ।’ नेपाली लवजमा मुस्कुराउँदै अर्जुन भन्छन् । 

 सिनियरलाई चुनौती दिन  सक्छ :  प्रशिक्षक वसन्त
एक वर्षअघि नेपाली पासपोर्ट बनाएका अर्जुन राष्ट्रिय टोलीमा आफूलाई प्रमाणित गर्ने योजनामा छन् । ‘मेरो पहिलो लक्ष्य नै राष्ट्रिय टोली हो । यसपछि मात्रै अन्त ध्यान हुनेछ । जब ‘छाती’मा देशको झन्डा आउँछ, देशका लागि राम्रो गरौँ भन्ने स्वतः आउँछ,’ उनले भने । ब्याटिङ, किपिङ र फिल्डिङमा राम्रो गर्दै सिनियर टोलीमा आफूलाई स्थापित गर्ने अर्जुनको अर्को योजना छ । ‘टोलीमा सिनियरहरू छन् भनेर सोच्दिनँ, सिनियरहरूबाट सिकेर आफूलाई राम्रो गर्छु,’ उनले भने, ‘अहिले माहोल राम्रो छ । सबैले राम्रो मान्नुहुन्छ । म टिममा नयाँजस्तै लाग्दैन ।’ 

नेपाली क्रिकेट टोलीमा स्थायी विकेटकिपरको अभाव छ । अनुभवी विकेटकिपर तथा ब्याट्सम्यान विनोद भण्डारी टिमभित्र–बाहिर भइरहेका छन् । दिलीप नाथ र आसिफ शेखले पनि सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । यो स्थितिलाई अर्जुनले सदुपयोग गर्न सक्नेछन् । 

यू–१७ का प्रशिक्षक वसन्त शाही ठकुरी अर्जुन प्रतिभावान् खेलाडी भएको मान्छन् । सिनियर टोलीमा अर्जुनजस्तो युवा खेलाडीले चुनौती दिने उनको भनाइ छ । ‘सिनियर टोलीमा एकछत्र राज गरेकालाई अर्जुनले राम्रो प्रतिस्पर्धा दिन सक्छन् । उसलाई विकेटकिपरभन्दा एक राम्रो ब्याट्सम्यान भन्न रुचाउँछु,’ प्रशिक्षक वसन्तले भने, ‘मुम्बईबाट सिकेर आएको अर्जुनसँग सम्भावना धेरै छ । हामीले कसरी प्रयोग गर्ने भन्ने मात्र हो ।’ 

See More On

सुझावित समाचार