प्रतिनिधिसभा कार्यकाल : कानुन बनाउने गृहकार्यमा सरकार

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

निर्वाचन घोषणापछि पनि चलिरहेको प्रतिनिधिसभाको कार्यकालबारे जारी अन्योल चिर्न सरकारले कानुन बनाउने गृहकार्य थालेको छ । प्रतिनिधिसभाको कार्यकालबारे राजनीतिक नेतृत्व र संविधानविद्बीचमै फरक–फरक मत आइरहेका वेला सरकारले कानुनमै कार्यकाल तोक्ने गरी गृहकार्य थालेको हो । 

अगाडि नै विघटन भएको छैन भने प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने संविधानको धारा ८५ ले स्पष्ट व्यवस्था गरेको छ । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ मा संशोधन गरेर कार्यकाल किटान गर्न परामर्श थालेको हो ।

पाँचवर्षे कार्यकालमा समस्या नभए पनि सुरु र अन्त्य कहिले हुने भन्ने अन्योल चिर्न दलहरूसँग परामर्श थालिएको कानुनमन्त्री गोविन्द शर्मा बन्दीले बताए । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमै कार्यकाल तोक्न आवश्यक रहेकाले कानुनमन्त्रीको हैसियतमा आफूले संसद्मा भएका सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेको कानुनमन्त्री बन्दीले बताए । 

‘सुरुको मिति तय नभएपछि अन्त्यको मिति पनि तय हुँदैन । यसमा अलिकति समस्या देखिएको छ,’ उनले भने, ‘पाँचवर्षे कार्यकालमा समस्या नभए पनि सुरु र अन्त्य कहिले हुने भन्ने अन्योल चिर्न दलहरूसँग परामर्श थालेका छौँ । दुई–तीन दिनमा निष्कर्षमा पुग्छौँ ।’

सरकारले ४ मंसिरका लागि निर्वाचन मिति घोषणा गरेको छ भने आयोगले प्रतिनिधिसभाको कार्यकाल २२ मंसिरसम्मलाई मानेको छ । तर, ०७४ मा निर्वाचित प्रतिनिसिभा सदस्यले त्यसै वर्षको २० फागुनमा शपथ लिएका थिए । सरकारले शपथ लिएको मितिलाई पनि आधार मानेर प्रतिनिधिसभाको कार्यकाल तोक्न सक्ने गरी परामर्श गरेको कानुनमन्त्री बन्दीले बताए । 

मन्त्री बन्दीले शपथग्रहण गरेको दिनलाई कार्यकाल सुरु भएको मानेर जान सकिने आधार रहेको, तर निष्कर्षमा पुगिनसकेको बताए । ‘जब शपथग्रहण गरेर बैठक बस्छ, तब कार्यकाल सुरु हुन्छ । किनभने शपथग्रहणपछि मात्रै प्रतिनिधिसभा सदस्य भनेर पुकार्ने गरिन्छ,’ उनले भने, ‘तर, यदि कुनै हिसाबले नयाँ जनप्रतिनिधि पुरानोको कार्यकाल सकिनुअगावै पहिले नै आयो र शपथग्रहण गरेर काम सुरु गर्ने भयो भने ऊ आउनासाथ पुरानो स्वतः मुक्त भएर जान्छ । यसलाई कानुनमा कसरी मिलाएर लिएर जाने भन्नेबारे छलफलमै छौँ ।’

संसद् कहिल्यै पनि रिक्त नहुने र रिक्तताको कल्पना गर्न नसकिने गरी कार्यकालको सीमा तोकिने उनको भनाइ छ । ‘संसद् रित्तो हुने होइन, प्रतिस्थापन गर्ने हो । त्यसैले आज सकियो, भोलि सकियो भन्ने रमाइला गफ हुन् । हामीले गणना गर्दा अर्काे आएपछि प्रतिस्थापन भएर जाने हो,’ उनले भने । 

कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले पाँचवटा मितिमा केन्द्रित रहेर कार्यकालको टुंगो लगाउने गरी छलफल भइरहेको बताए । ‘प्रतिनिधिसभाको पदावधि यकिन नभएकाले कानुनमै यकिन गर्नुपर्छ मत छ । के गर्ने भन्ने छलफल चलिरहेको छ,’ उनले भने । 

उनका अनुसार शपथग्रहण गरेको मितिदेखि तलब–भत्ता आउने भएकाले यसलाई मिति मान्ने कि भन्ने प्रस्ताव आएको छ । त्यस्तै, पारिश्रमिक कानुनअनुसार निर्वाचित भइसकेको मिति, मनोनयन गरेको मिति र निर्वाचन भएको मितिलाई मान्ने भनेर प्रस्ताव आएको विश्वकर्माले जानकारी दिए । ‘कुनलाई मान्ने भनेर दलहरूले आन्तरिक सल्लाह गर्ने र जेमा सहमति हुन्छ त्यही गर्ने भन्ने भएको छ,’ उनले भने । 

राष्ट्रिय सभाले शपथग्रहण गरेको मितिलाई आधार बनाएको भन्दै विश्वकर्माले थपे, ‘प्रतिनिधिसभाले के गर्ने भनेर दलहरूले सल्लाह गरेर टुंगो लगाउँछन् । सहमतिको जिम्मा कानुनमन्त्रीलाई दिएका छौँ । दलको राय लिनुपर्यो भने हामीले गर्छाैँ ।’

निर्वाचन कार्यतालिकास“गै प्रतिनिधिसभाको कार्यकाल २ असोजमा अन्त्य हुने चर्चा भएको छ । राजनीतिक दलका नेता र सांसदले नै ४ मंसिरमा तोकिएको निर्वाचनअन्तर्गत समानुपातिक बन्दसूचीको मनोनयनसँगै कार्यकाल सकिने मत राखेका छन् । 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गरिरहेको महाभियोग सिफारिस समितिले पनि २ असोजलाई नै अन्तिम मिति मानेर ‘फास्ट ट्र्याक’मा छानबिन गरिरहेको छ । दलीय आधारमा समितिका सदस्यहरू विष्णु पौडेल, मीन विश्वकर्मा, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह, एकबाल मियाँले पनि २ असोजमा समानुपातिकतर्फ मनोनयन सुरु भएसँगै संसद् अन्त्य हुने बताइरहेका छन् । 

प्रतिनिधिसभाको कार्यकालबारे यसअघि प्रत्यक्ष निर्वाचनतर्फको मनोनयनअघिसम्म (असोज मसान्त), निर्वाचन भएको मिति (१० मंसिर ०७४) अगाडि ९ मंसिर र शपथ लिइसकेपछि पहिलो अधिवेशन आह्वान भएको (२१ फागुन ०७४) दिनअगाडि २० फागुनसम्म हुनुपर्ने धारणा आएका थिए । थरीथरीका मितिले कार्यकालको अन्योल बढिरहेका वेला कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानुनमै कार्यकाल तोक्न परामर्श थालेको हो । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले शपथकै मितिलाई आधार मानेर प्रतिनिधिसभाको कार्यकाल तय हुने गरी कानुन बनाउनुपर्ने बताएका थिए । ‘चुनाव जहिले गरे पनि शपथग्रहण २० फागुनमै राखेर कार्यकाल किटान गरी कानुनी व्यवस्था गरौँ,’ उनको भनाइ थियो । 

सुझावित समाचार