घरेलु प्रतियोगितामा युगलकिशोर राईको नाम सधैँ चर्चामा रह्यो । यद्यपि, देशका लागि भने कम अवसर पाए । खेलाडी जीवन अन्त्यसँगै उनले प्रशिक्षक भूमिकामा आफूलाई अघि बढाए । एएफसी ‘ए’ लाइसेन्सप्राप्त राईले गत सहिद स्मारक ए डिभिजन लिगमार्फत प्रशिक्षकको भूमिकामा चिनाए । हिमालयन शेर्पालाई पहिलोपटक प्रशिक्षण गराएका राईको अनुभव अब राष्ट्रिय टिमका लागि प्रयोग हुने भएको छ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले ११ असोजमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । फिफाले मान्यता दिएको खेल दशरथ रंगशालामा हुनेछ । जसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंले युवा प्रशिक्षक युगलकिशोर राईलाई सहायक प्रशिक्षकमा झिकाए । राईले यो अवसरबाट राष्ट्रका लागि काम गर्ने प्रेरणा मिलेको बताए । ‘खेलाडी होस् या प्रशिक्षक सधैँ देशको नाम जोडिँदा खुसी लाग्छ । अवसर पाएको छु । मिलेर राम्रो गर्नेछौँ,’ २७ वर्षीय राई भन्छन् ।
सन् २०१६ मा एएफसी ‘सी’ लाइसेन्स उत्तीर्ण राईले सन् २०२० मा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । लाइसेन्स प्राप्तसँगै राई पहिलो फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीसँग काम गरे । जुन टिम उपविजेता बन्यो । यसपछि बाँसबारी क्लबलाई ‘बी’ डिभिजन लिगमा हेरे भने शीर्ष डिभिजन लिगमा शेर्पालाई हेरे । दुवै औसत टिमलाई राईले राम्रो प्रदर्शन दिलाउन सफल भए । यससँगै राईको प्रशिक्षक करिअरले उचाइ मार्यो ।
हाल एन्फाले ४० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । जसलाई राई र हुमागाईंले प्रशिक्षण दिइरहेका छन् । ‘अभ्यास सुरु भएको एक साता भयो । राम्रो भएको छ,’ राई भन्छन् । यसअघि युगलले न्युरोड टिम एनआरटी, रानीपोखरी कर्नर टिम आरसिटी, थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी र नेपाल पुलिसलगायत क्लबबाट घरेलु फुटबलमा तहल्का पिटेका थिए । नेपाल पुलिसबाट अन्तिम ‘ए’ डिभिजन लिग खेलेसँगै राईले प्रशिक्षकको जिम्मेवारी वहन गरेका थिए ।
भूमिका मात्रै फरक, प्राथमिकता एउटै
युगलकिशोर राई खेलाडी र प्रशिक्षकबीच भूमिका मात्रै परिवर्तन हुने बताउँछन् । ‘जर्सी, भावना र अनुभव एउटै हो । दुवै जिम्मेवारीमा राष्ट्र प्राथमिकतामा हुन्छ,’ राई भन्छन् । प्रशिक्षक राईले यसअघि बाहिर रहेका खेलाडी प्रशिक्षणमा समावेश भए पनि प्रदर्शनका आधारमा टिममा स्थान बनाउने बताए । उनले अनुभव, जुनियर र सिनियर आधारभन्दा पनि अभ्यासमा उच्च प्रदर्शन गर्नेलाई स्थान दिने बताए । ‘नयाँ खेलाडी पनि टिममा समावेश छन् । हामी नयाँ, पुराना, अनुभवभन्दा पनि अभ्यासमा कसले उच्च प्रदर्शन दिन्छ । उसैलाई स्थान दिने हो । राम्रो गर्नेले जहिल्यै स्थान पाउँछ,’ राई भन्छन् ।