समानुपातिकमा १५–२० सिट कसैले रोक्न सक्दैन : नेपाल

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न निर्वाचनमा आफ्नो पार्टीले समानुपातिकमा १५–२० सिट पाउने दाबी गरेका छन् । राजधानीमा बिहीबार आयोजित ‘पार्टी पुनर्गठन दिवस’ कार्यक्रममा नेपालले पार्टीको मत बढाउन चुनावी अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

गत स्थानीय तह निर्वाचनमा २७ प्रतिशत उम्मेदवार खडा हुँदा नौ लाख २७ हजार मत प्राप्त गरेको र आसन्न निर्वाचनमा बढ्ने नेपालको भनाइ थियो । ‘२७ प्रतिशत उम्मेदवार खडा गर्दा हामीले नौ लाख २७ हजार भोट पाएका छौँ । यदि सबै ठाउँमा उम्मेदवार खडा गरेको भए १५ देखि २० लाखसम्म भोट आउँथ्यो । समानुपातिकमा १५ देखि २० सिट जित्न कसैले रोक्न सक्दैन,’ नेपालले भने । 

आगामी निर्वाचनमा समानुपातिक भोटले पार्टीको हैसियत देखाउने भन्दै नेपालले प्रचारप्रसारमा जुटिहाल्न निर्देशन दिए । ‘आगामी चुनावमा समानुपातिक भोटका आधारमा पार्टीले आफ्नो हैसियत देखाउन सक्छ । पार्टी र निर्वाचन चिह्नको प्रचार गर्ने काममा जुट्नुपर्ने आवश्यकता छ । मतदातालाई प्रशिक्षित पनि गर्नुपर्नेछ, यी कुरालाई सबैले ध्यानमा राख्नुहोला,’ नेपालले भने । 

एक वर्षको अवधिमा एकीकृत समाजवादीले जति प्रगति कुनै पनि पार्टीले नगरेको उनको तर्क छ । सबै पालिका र वडामा समेत पार्टी संगठन निर्माण गर्न र चलायमान राख्न पनि उनले निर्देशन दिए । निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन तथ्यांकमा पनि धेरै त्रुटि रहेको उनले औँल्याए ।

सम्मानित नेता झलनाथ खनालले एक वर्षको अवधिमा पार्टीले प्राप्त गरेको उपलब्धि र भावी कार्ययोजनाबारे लिखित सम्बोधन गरेका थिए । ‘पहिलेदेखि नै दक्षिणपन्थी अवसरवादतिर उन्मुख खड्गप्रसाद ओलीको सरकार एकलौटी सत्ता प्राप्त भएपछि दक्षिणपन्थी अवसरवादको दलदलतिर भासिँदै गयो । त्यसको परिणामस्वरूप हामीले ऐतिहासिक विद्रोह गर्नुपर्यो,’ खनालले भने, ‘एक वर्षअघि पार्टी पुनर्गठन गरेका थियौँ । समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, बाटो र विधिविधानलाई क्रमशः व्यवस्थित गर्दै ल्याएका छौँ र त्यसबारेमा क्रान्तिकारीको बढ्दो पंक्ति स्पष्ट हुँदै गएको छ ।’ 

एमालेमा ओली समूहसँगको विद्रोह अहिले पनि जारी रहेको खनालले बताए । ‘हामीले एक वर्षअघि विद्रोेहको सुरुवात गरेका थियौँ, त्यो अहिले पनि जारी छ । भर्खरै पाल्पामा भएको विद्रोेह त्यसैको पछिल्लो कडी हो । देशभरि यस्ता विद्रोेह भइरहेका छन् । अझै विद्रोह हुँदै जानेछन्,’ खनालले भने । प्रत्येक पालिका, वडा, गाउँ, टोल र बस्तीमा समेत संगठन विस्तार गर्नुपर्नेमा उनले जोड दिए । उनले विचार मिल्ने कम्युनिस्ट समूहहरूसँग एकताका प्रक्रियालाई अगाडि बढाउने र आगामी निर्वाचनलाई पार्टी र क्रान्तिको अग्रगतिको हितमा अधिकतम उपयोग गरेर जानुपर्ने बताए । 

सुझावित समाचार