एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठनको एक वर्ष भएको छ, तर नेपालको सत्ता राजनीतिमा उसको उपस्थितिले उथलपुथल भएको छ । संघीयदेखि प्रदेश सरकारसम्ममा देशको ठूलो दल एमाले विपक्षी बनेको छ भने एकीकृत समाजवादीले सत्ता राजनीतिमा चमत्कारपूर्ण उपलब्धि हासिल गरेको छ । स्थानीय निर्वाचनमा एमालेलाई धक्का दिनुलाई एकीकृत समाजवादीले ‘जित’ठानेको छ ।
संगठन र सत्ता राजनीतिका दृष्टिले समाजवादीको एक वर्ष उतारचढावपूर्ण छ । अंकगणितमा निर्णायक भूमिकापछि उसलाई ‘सत्ता राजनीति’मा धेरै उपलब्धि हासिल भएको छ । एमालेसँग प्रतिशोधपूर्ण राजनीति गरिरहेको तथा पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी आसन्न प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा सम्मानजनक जित निकालेर सत्ता राजनीतिमा हाबी हुने दाउमा छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक संसद् विघटन गरेपछि उत्पन्न टकराव बढ्दै गएपछि माधव नेपाल र झलनाथ खनालसहितका नेताहरूले एमालेबाट विद्रोह गरेका थिए । नेपाल र खनालको विद्रोह यस्तो मोड बन्यो, जसले एमालेलाई सम्पूर्ण रूपमा सत्ताबाट बाहिर पठाउन सम्भव भयो । र, त्यही विद्रोहले अहिलेको पाँचदलीय गठबन्धनको आधार पनि तयार पार्यो ।
‘एमालेलाई सत्ताबाट प्रतिपक्षमा पुर्याएको र देशभरका लोकतान्त्रिक समाजवादी शक्तिलाई एक ठाउँमा जुटाएर संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व कायम गर्ने काम गरेका छौँ,’ प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भन्छन्, ‘यही प्रयासका कारण आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । स्थायित्वका लागि संसद् पाँच वर्ष टिक्नुपथ्र्यो, त्यो हामीले टिकाएका छौँ ।’
निर्वाचन आयोगबाट ९ भदौ ०७८ मा पार्टी दर्ताको प्रमाणपत्र लिएको समाजवादीले बिहीबार ‘पार्टी पुनर्गठन दिवस’ मनाउँदै छ । कार्यक्रमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने तय गरिएको छ । पार्टी गठनको एक वर्षलाई लिएर नेताहरू उपलब्धिपूर्ण मूल्यांकन सुनाउँछन् । ओली नेतृत्वको सरकार विस्थापन गरेर बनेको देउवा नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका पाँच मन्त्री र एक राज्यमन्त्री छन् । कानुनमन्त्री गोविन्द बन्दी एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रस्तावमा मन्त्री बनेका हुन् । बन्दीसहित समाजवादीबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, श्रममन्त्री शेरबहादुर कुँवर, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी छन् ।
प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ६ प्रदेश सरकारमा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् । गण्डकीमा प्रदेश सांसद नभएकाले समाजवादीबाट सरकारमा प्रतिनिधित्व छैन । लुम्बिनीमा एकीकृत समाजवादीकी एक्ली सांसद पाल्पाकी रमा घर्ती कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छिन् । यसबीचमा एमालेले आफ्नो चार मुख्य मन्त्री गुमाएको छ ।
संघीय संसदमा ३२ र प्रदेश सभामा ५४ सांसद
एकीकृत समाजवादीका प्रतिनिधिसभामा २३ सांसद छन् । राष्ट्रिय सभामा स्वतन्त्र एकसहित नौ सांसद छन् । एकीकृत समाजवादी गठनअघि भएको राष्ट्रिय सभा उपनिर्वाचनमा माधव नेपालको प्रस्तावमा पाँचदलीय गठबन्धनका तर्फबाट खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवारका रूपमा निर्र्वाचित भएका थिए । उनले एमाले उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए । प्रदेश सभामा एकीकृत समाजवादीका ५४ सांसद छन् ।
सुदूरपश्चिममा प्रदेश सभाकै ठूलो दल एकीकृत समाजवादी छ भने मधेस प्रदेशमा एमालेभन्दा समाजवादी ठूलो छ । गण्डकी प्रदेश सभामा एकीकृत समाजवादीका सांसद संख्या शून्य छ । समाजवादीका प्रदेश १ मा १०, मधेसमा १३, बागमतीमा १३, लुम्बिनीमा एक, कर्णालीमा तीन र सुदूरपश्चिममा १४ सांसद छन् ।
महानगरसहित स्थानीय तहमा पनि उपस्थिति
स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष आठ, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष एक सय ९०, महिला सदस्य एक सय ८४, दलित महिला सदस्य एक सय ८० र खुला सदस्य तीन सय ८९ गरी जम्मा नौ सय ८६ स्थानमा विजयी भएका छन् ।
विजयीमध्ये महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख पाँच, गाउँपालिका अध्यक्ष पाँच, नगरपालिका उपप्रमुख ६, गाउँपालिका उपाध्यक्ष ११ गठबन्धनबाट निर्वाचित भएका हुन् भने बाँकी एक्लै प्रतिस्पर्धा गरेर जितेको हो । वडाध्यक्ष र सदस्यहरू प्रायः एक्लै निर्वाचन लडेर जितेको तुलाधरले बताए । जिल्ला समन्वय समितिमा प्रमुख पाँच, उपप्रमुखमा आठ र सदस्यमा २८ जना निर्वाचित भएका छन् ।
कति छ सांगठनिक शक्ति ?
दुई लाखभन्दा बढी व्यक्ति पार्टीका विभिन्न कमिटीमा संगठित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनका अनुसार करिब पाँच लाख सदस्यता वितरण भइसकेको छ । पाँच हजारभन्दा बढी वडामा समेत कमिटी छन् । केन्द्र, प्रदेश र स्थानीय तहसहित उपत्यका विशेष प्रदेश र गैरभौगोलिक जिल्ला कमिटी, सम्पर्क विशेष प्रदेश र प्रवासमा समेत संगठन विस्तार भएको नेताहरूको भनाइ छ ।
विभिन्न विभाग, जनवर्गीय संगठन, पेसागत संगठन र सामुदायिक संगठनसमेत गठन भएको तुलाधरले बताए । उनका अनुसार केन्द्रीय संरचनामा एक हजार पाँच सय ३६ नेता छन् । केन्द्रीय कमिटी सदस्य तीन सय ६८, केन्द्रीय आयोगका सदस्य एक सय सात, केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक सय ५७, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च ३८, केन्द्रीय परिषद् सदस्य एक सय १३ र केन्द्रीय विभागमा सात सय ५५ सदस्य छन् । प्रदेश कमिटीमा एक हजार पाँच सय ६६ जना क्रियाशील छन् । प्रदेश १ मा दुई सय ४४, मधेसमा एक सय ६८, बागमतीमा दुई सय १७, गण्डकीमा एक सय ३९, लुम्बिनीमा एक सय ६५, कर्णालीमा एक सय ७०, सुदूरपश्चिममा एक सय ७३, उपत्यका विशेषमा ८२, सम्पर्कमा ६४, भारत प्रवासमा एक सय एक र अन्य प्रवासमा ४३ जना संगठित छन् ।
एमाले नेता कर्ण थापाको टिप्पणी : एकीकृत समाजवादी दक्षिणपन्थी बन्यो
एकीकृत समाजवादी सम्पूर्ण हिसाबले दक्षिणपन्थी बन्यो । कांग्रेसको सहयोगीको रूपमा उसले भूमिका खेलेको छ । उसको लक्ष्य नै जसरी पनि एमालेलाई कमजोर बनाउने छ । कम्युनिस्टलाई कमजोर बनाएर पुँजीवादीलाई बलियो बनाउने वामपन्थी हुन सक्दैनन् । अहिले कम्युनिस्ट विचारधाराको नेतृत्व एमालेले र पुँजीवादीको नेतृत्व कांग्रेसले गरेको छ । अरू पार्टी त दर्शन, सिद्धान्त र प्रतिस्पर्धाको हिसाबले धेरै पछि छन् । एमालेले सबैसँग सहकार्य गर्न सक्छ, तर षड्यन्त्रकारीसँग कदापि सहकार्य हुँदैन ।
स्थानीय कमिटीमा सवा लाख संगठित सदस्य
उपमहासचिव डा. गंगालाल तुलाधरका अनुसार जिल्ला कमिटीमा १४ हजार ६ सय ३९, पालिका कमिटीमा २३ हजार ६ सय ७६ र वडा कमिटीमा ८१ हजार ९८ गरी स्थानीय कमिटीमा एक लाख १९ हजार चार सय १३ जना संगठित भएका छन् । यसका साथै उपत्यका विशेष प्रदेश कमिटी र त्यसअन्तर्गत पाँचवटा जिल्ला कमिटी, १९ इलाका कमिटी र २९ शाखा कमिटी गठन भएका छन् । सम्पर्क विशेष प्रदेश कमिटी र त्यसअन्तर्गत सात प्रदेशमा प्रदेश सम्पर्क कमिटी तथा ६६ जिल्लामा जिल्ला सम्पर्क मञ्च गठन भएका छन् । भारत प्रवासका विभिन्न राज्यमा र भारतबाहेक अन्य प्रवासका २५ मुलुकमा प्रवासी नेपाली एकता मञ्च गठन भएका छन् । ती कमिटीमा पाँच हजार एक सय ८४ जना संगठित छन् । यसका साथै जनवर्गीय संगठनहरू अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, एकीकृत ट्रेड युनियन महासंघ, युवा संघ नेपाल, अनेरास्ववियु, पेसागत महासंघ र त्यसअन्तर्गतका घटक १२ संगठन, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र त्यसअन्तर्गतका घटक संगठन, खेलकुद महासंघ, जनसांस्कृतिक महासंघ, आदिवासी जनजाति महासंघ, समाजवादी प्रेस संगठन र नेपाल दलित मुक्ति संगठनका केन्द्रीय, प्रदेश र जिल्ला कमिटी गठन भएका छन् ।
विद्रोहको पुष्टि गर्न सफल भयौँ : डा. गंगालाल तुलाधर उपमहासचिव, एकीकृत समाजवादी
एकीकृत समाजवादी पार्टी गठन भएको एक वर्षमा एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भयो त ?
हामीले यसबीचमा पार्टीको सांगठनिक आधार तयार गरेका छौँ । हामी के हौँ भन्ने परिचय दिन सफल भएका छौँ । हामीले गरेको काम र योगदानको आधारमा नेपाली जनताले मूल्यांकन गर्नेछन् । एकपछि अर्को गरेर हाम्रो पार्टीमा आबद्ध हुने नेता–कार्यकर्ताको संख्या बढ्दै छ । दुईतिहाइ बहुमतको सरकार चलाउने अवसर केपी ओलीले पाउनुभएको थियो । ओली सरकारले समाजवादका आधार तयार गर्न सक्नुपथ्र्यो । त्यसो गर्नुको साटो एउटा व्यक्तिको दम्भ, घमण्डले एमाले बिस्तारै दक्षिणपन्थी अवसरवादी बन्दै गयो । व्यक्तिगत महत्वाकांक्षाले ग्रस्त हुँदै गयो । पार्टी एकता, जनमतको सम्मान गर्ने कुरामा दुःख, हन्डर खाएर भए पनि फेरि एकीकृत शक्तिशाली कम्युनिस्ट पार्टी बनाउन हामीले एमालेबाट विद्रोह गरेका हौँ । एक वर्षसम्मको हाम्रो अभ्यास, संगठनात्मक आधार र निर्वाचनमा जनताले गरेको विश्वासले पुष्टि गर्दै गएको छ । स्थानीय निर्वाचनमा २७ प्रतिशत उम्मेदवार उठाउँदा पनि हामीले नौ लाख २७ हजारभन्दा बढी लोकप्रिय मत ल्याएका छौँ । यही आधारमा हामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मत माग्छौँ ।
एमाले र केपी ओलीको आलोचनामै एकीकृत समाजवादीका नेताले बढी समय खर्चिएको देखिन्छ नि ?
गाली–गलोजपूर्ण शब्दप्रति हामी सचेत छौँ । केपी ओलीले जसरी गाली हामीले गर्नुहुँदैन भन्नेमा सचेत छौँ । नवौँ महाधिवेशनमा नीति एउटाको र नेतृत्व केपी ओलीको भएका कारण एमालेमा समस्या आएको हो । महाधिवेशनले पारित गरेको नीति, कार्यक्रमप्रति ओलीले अपनत्व नै लिएनन्, कुनै जिम्मेवारी भाव नै देखाएनन् त भन्नैपर्यो नि । ओली जनताको बहुदलीय जनवादको हवाला दिन्छन्, तर पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने अवस्था नै एमालेमा रहेन । पार्टीमा आन्तरिक लोकतन्त्र भएको भए ओलीविरुद्ध बोल्नेलाई पनि ठाउँ दिन सक्नुपथ्र्यो । ओलीको विचारको विपक्षमा लागेकालाई पनि माया गर्न सक्नुपथ्र्यो । बहुमतमा भएको नेताले अल्पमतलाई माया गरेको भए स्वाभाविक रूपमा अल्पमतले पनि सम्मान गर्ने अवस्था बन्थ्यो । हामीले वैज्ञानिक समाजवादको जे सपना देखेका हौँ, दुईतिहाइको सरकारले काम गर्न सकेन ।
अब कस्तो पार्टी बनाउन खोज्नुभएको हो ?
एमाले र माओवादीबीचको एकतापछि जस्तो शक्ति बनेको थियो, त्यस्तै शक्ति बनाउने प्रयत्न गर्दै जान्छौैँ । वर्तमान पाँचदलीय गठबन्धनलाई कायमै गर्दै वाम गठबन्धन, तालमेल र एकताको निम्ति पहलकदमी लिने निर्णय गरिसकेका छौँ । पार्टी स्थापना दिवस मनाइरहँदा हामी बृहत् वामपन्थी एकताको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ । हामीले एक वर्षअघि पार्टी दर्ता गरिरहेको वेलामा निर्वाचन आयोगकै प्रांगणबाट बृहत् वाम एकताका निम्ति नै हो भनेका थियौँ । सोहीअनुसार हामी अगाडि बढेका छौँ ।
पार्टी गठन भएको एक वर्ष नपुग्दै एकतामा जानुपर्ने बाध्यता कसरी आयो ?
एक वर्ष पुग्नै लाग्दा हामीले बृहत् एकता प्रक्रिया थालनी गरेका हौँ । यसबीचमा पनि हामीले विभिन्न दलहरूलाई एकता प्रक्रियामा सहभागी गराएका छौँ । हिजो एमालेमा माओवादी विलय भएको हो कि एकीकरण भएको हो ? अब समाजवादीमा माओवादी विलय हुन खोजेको हो कि माओवादीमा समाजवादी भन्ने ढंगले हेर्नुहुँदैन । यो विलयको कुरै होइन । हैसियत र संगठनात्मक प्रभावका आधारमा एकता हुने हो । हिजो केपी ओली र प्रचण्डबीच जसरी छापामार शैलीमा एकता भयो, अब त्यसरी हुँदैन । चुनावभन्दा अगाडि एकता सम्भव देखिँदैन, समयले पनि भ्याइँदैन । चुनावपछि धेरै आयाम, प्रक्रिया पूरा गरेर एकीकृत समाजवादी र माओवादीबीच एकता हुन्छ ।