तीन वर्षदेखि तिब्बती नाका नखुल्दा नुन केजीकै ७५ रुपैयाँ

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजिमार तीन वर्षदेखि सुनसान छ । हरेक वर्ष १५ साउनदेखि १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङवासी निराश भएका छन् ।

१५ दिनका लागि अस्थायी रूपमा खोल्ने व्यापारी केन्द्रबाट स्थानीयले वर्षभरिका लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामान किनमेल गर्थे । तर, कोरोना महामारीका कारण तीन वर्षयता उक्त व्यापारी नाका ठप्प हुँदा स्थानीय कर्मचारी, व्यापारी र सर्वसाधारण मारमा परेका मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । सुर्खेत नेपालगन्जबाट सामान ढुवानी गर्दा वस्तुको मूल्यभन्दा ढुवानीको खर्च चार–पाँच गुणाभन्दा बढी पर्ने गरेको उनको भनाइ छ ।  

उत्तरी व्यापारी नाका बन्द हुँदा हामीमा गरिबीसमेत बढेको उनको भनाइ छ । खेतका गरामा अन्नबालीसमेत उत्पादन हुन छाडेको र उत्तरी व्यापारी नाका पनि तीन वर्षयता बन्द हुँदा जीवनयापन गर्न कठिनाइ भएको उनी बताउँछन् । २५ केजी चामल ढुवानी गर्न मुगु सदरमुकाम गमगढीमा १८ सयदेखि दुई हजार दुई सयसम्म पर्छ । मुगम कार्मारोङका विभिन्न गाउँबस्तीसम्म पुग्दा ६ हजारसम्म पर्ने गरेको स्थानीयको भनाइ छ । एक केजी नुनको सदरमुकाममा नौ रुपैयाँ पर्छ भने कार्मारोङमा ७५ रुपैयाँसम्म पर्ने गरेको छ ।

सामान किनेको मूल्यभन्दा ढुवानी महँगो पर्ने भएकाले स्थानीय मार खेप्दै आएका छन् । सुर्खेत, नेपालगन्जमा एक हजार दुई सयदेखि एक हजार आठ सयसम्म पर्ने चामल मुगु सदरमुकाम पुर्याउन प्रतिकेजी १२ रुपैयाँ ढुवानी पर्ने गरेको छ । 

साउन १५ देखि मसान्तसम्म खोलिने नेपाल र तिब्बतको सिमाना ह्याजिमारामा तिब्बती व्यापारीले अस्थायी हाट–बजार सञ्चालन गर्ने गर्थे । उक्त हाट–बजारमा मुगम कार्मारोङ गाउँपालिकाका मुगु, चितै, डोल्फु, ताखा, खारी, किम्री, रिउस, पुअ, महमांग्रीलगायत १७ वटा बस्तीबाट स्थानीय व्यापारी, सर्वसाधारण खाद्य वस्तु, नुन, तेल, लत्ताकपडा किन्न उक्त नाकातिर ओइरो लाग्ने गर्थे । तिब्बतबाट सामान ल्याउन कसैले घोडा, खच्चर, चौँरी, झोबा, गधालगायत माल वस्तु लिएर सामान ढुवानी गरेर ल्याउने गरेको किम्री गाउँका जिक्टोल लामा बताउँछन् ।

तीन वर्षदेखि उत्तरी व्यापारी नाका बन्द हुँदा खाद्य वस्तु, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुको जोहो गर्न कठिनाइ भएको मुगम कार्मारोङ गाउँपालिका–२ की फुटी लामाले बताइन् । यो वर्ष पनि भदौ पहिलो साता बित्न लाग्दा पनि नाका खुल्ने–नखुल्ने कुनै निश्चित नभएको उनको भनाइ छ । ‘तिब्बती व्यापारी नाकाबाट खाद्यान्नलगायतको उपभोग्य वस्तु ल्याएर हामी बाँच्ने गरेका छाैँ,’  डोल्फुका ग्याल्जन लामाले भने ।

See More On

सुझावित समाचार