रकम अभावका कारण उपचार हुन नसकेको दोलखा तामाकोसी गाउँपालिका–१, भिरकोटका रमिला र गणेश माझीका ८ वर्षीय छोरा अनिशको उपचारमा ५० हजार रुपैयाँ संकलन भएको छ । संकलित रकम अनिशका आमा रमिलाले बुझेकी छिन् ।
‘ब्रेन इन्फेक्सन’का बिरामी अनिशको न्युरो अस्पताल बाँसबारी, काठमाडौंमा उपचार भइरहेको छ । उनलाई समाजसेवी शोभित उप्रेती, टेकराज थामी, वैदेशिक रोजगारका क्रममा हाल कतारमा रहेका गोपाल बस्याल, लक्ष्मीप्रसाद तिम्सिना, प्रजिन श्रेष्ठ, विष्णु देवकोटा, सन्तोष मगरले सहयोग रकम उपलब्ध गराएका थिए ।
उनीहरूबाट प्राप्त रकम बौद्ध महांकालका धनबहादुर पाण्डेले पीडित परिवारलाई उपलब्ध गराएका छन् । आमा रमिलाका अनुसार अनिशको स्वास्थ सुधारोन्मुख छ । उपचारका लागि १० देखि १२ लाख रुपैयाँ लाग्ने र उक्त रकम जुटाउने सामर्थ्य परिवारसँग नभएको उनको भनाइ छ ।