शैक्षिक सत्र ०७६ मा भर्ना भएर ०७८ साउनमा पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी तेस्रो वर्षमा पढ्दै छन्, तर पहिलो वर्षकै नतिजा पाएनन्
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १२ महिनाअघि लिएको स्नातक प्रथम वर्ष (पुरानो)को परीक्षाफल अझै प्रकाशित भएको छैन । शैक्षिक सत्र ०७६ मा भर्ना भएर ०७८ साउनमा पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी हाल तेस्रो वर्षमा पढ्दै गर्दा पनि पहिलो वर्षकै नतिजा नपाएका हुन् ।
०७८ साउनमा परीक्षा भएका चारवर्षे बिए, बिबिएस, बिएस्सी, बिएड पहिलो वर्षको नतिजा सार्वजनिक भएको छैन । कतिपय उत्तरपुस्तिका नै नभेटिएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक घनश्याम ठाकुरले बताए ।
‘कतिपय कपी भेटिएको छैन । हराएको होइन, विभिन्न ठाउँबाट आएकाले खोज्न समय लागेको हो,’ सहनियन्त्रक ठाकुरले भने, ‘विद्यार्थीले जहाँ छ त्यहीँबाट जाँच दिए, रोल नम्बरअनुसार कपी खोज्न टाइम लाग्छ, त्यसलाई केलाउँदा समय लागेको छ ।’
त्यतिवेला कोभिडको समस्याका कारण विद्यार्थीले अध्ययन गरेको क्षेत्रभन्दा बाहिर आफ्नो घर तथा बसिरहेको नजिकको ठाउँको क्याम्पसबाट परीक्षा दिने व्यवस्था त्रिविले गरेको थियो । त्रिविले घरपायक स्थानबाट परीक्षा दिन पाउने व्यवस्था गरे पनि परीक्षा दिएपछि उत्तरपुस्तिका व्यवस्थित गर्न नसक्दा भद्रगोल बनेको हो । कतिपय उत्तरपुस्तिका पनिका बल्खुले बल्ल परीक्षणका लागि उपलब्ध गराउँदै छ ।
दुईवटा प्रथम वर्षका परीक्षा भए, नतिजा अनिश्चित
शैक्षिक सत्र ०७६ भदौमा भर्ना भएका विद्यार्थीले ०७८ साउनमा प्रथम र दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षको कक्षा सुरु गरेको छन् । शैक्षिक सत्र ०७७ माघमा भर्ना भएका विद्यार्थीले ०७८ फागुनमा प्रथम वर्षको जाँच दिएर अहिले दोस्रो वर्ष अध्ययन गरिरहेका छन् । तर, स्नातक तहका यी दुवै प्रथम वर्षका परीक्षाफल नआउँदा क्याम्पस प्रशासनसमेत अन्योलमा परेका छन् ।
विद्यार्थी तेस्रो वर्षमा पुग्दा पनि पहिलो वर्षको नतिजा नआउनु सबैका लागि दुर्भाग्य भएको बताउँछन् पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापा । ‘विश्वविद्यालयमा धेरै विषय सिस्टममा चलेको छैन, यसले धेरैलाई असर गर्छ,’ उनले भने । परीक्षामा आवश्यक जनशक्ति र पूर्वाधार दिएर पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।
त्रिविमा स्नातक प्रथम वर्षको ०७८ साउनमा परीक्षा दिने मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन, शिक्षा र विज्ञान संकायका विद्यार्थी संख्या साढे दुई लाख रहेको पनिकाले जनाएको छ । एलएलबीमा परीक्षाका लागि झन्डै १४ हजारले फारम भरेका थिए ।