नबिल बैंकले आफ्ना क्युआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ । ‘नबिल फोन लोन– क्युआर मर्चेन्ट’ नामको सेवाको सुरुवातसँगै क्युआर मर्चेन्टले घरमा बसी–बसी कुनै पनि धितोविना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्ने सुविधा सुरु भएको हो ।
बैंकले युएनसिडिएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई लक्षित गरी यो सुविधा ल्याएको जनाएको छ । यो सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीले नबिलको क्युआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्ने र नबिल स्मार्ट बैंकिङ लिनुपर्ने जनाइएको छ । त्यसका साथै अघिल्लो महिनामा पाँचवटा क्युआर कारोबारबाट १० हजार रुपैयाँबराबरको कारोबार गर्नुपर्ने तथा पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्ने सर्त राखिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो पूर्ण रूपमा डिजिटल सेवा भएको बताए । उनले भने, ‘हामीले कुनै धितोविना नै क्युआर कारोबारलाई आधार मानेर हाम्रा क्युआर मर्चेन्टहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलोपटक यो सुविधा ल्याएका हौँ ।’ यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बंैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने उनको भनाइ छ ।
सुरुवाती चरणमा व्यवसायीले एक लाख रुपैयाँसम्मको विनाधितो कर्जा एक महिनाका लागि लिन सक्ने जनाइएको छ । यो सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ ।