रवि लामिछानेको दाबा - देश खोक्रो पार्ने जरा उखेल्न आएको हुँ

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वत्रन्त्र पार्टीका संयोजक रवि लामिछानेले पुराना दलको कार्यशैलीबाट आजित भएका जनतामा आफ्नो पार्टी विकल्पको रूपमा उदयमान भएको बताएका छन् । पार्टी गठनपछि देश दौडाहमा रहेका लामिछानेले बिहीबार चितवनको खैरहनी नगरपालिकामा आयोजित नगरसभालाई सम्बोधन गर्दै जनतालाई २४ सै घण्टा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन रास्वपाको जन्म भएको दाबी गरे । 

‘पुराना राजनीतिक दलले गरेको भए हामी आउनुपर्ने थिएन । सञ्चार क्षेत्रमा रहँदा जनताको दुःख प्रत्यक्ष देखेको छु, त्यसैले दलको दलदलमा परेका नागरिकको उत्थानका लागि विकल्पमा रास्वप लिएर आएका छौँ,’ उनले  भने, ‘जनता र उनीहरूको स्वास्थ्य सुरक्षाका लागि २४ सै घण्टा सम्पर्कमा रहनेछौँ ।’
लामिछानेले सञ्चारकर्मीका रूपमा काम गर्दा देशलाई खोक्रो पार्ने हाँगाहरू मात्र समातिएको र त्यसका जराहरूलाई प्रमाणसहित सार्वजनिक गर्दै राज्यलाई दुर्घटनाबाट बचाउनसमेत आफू मैदानमा ओर्लिएको बताए । ‘आफ्नो मान्छे भर्न र दलाल बिचौलियाहरूको गुलामीमा मस्त सरकारले जनताको गुनासो, दुःख र सुख बुझेनन् त्यसैले पुराना दलहरूलाई चुनौती दिँदै भर्खरै जन्मिएको पार्टी जनताको मायाले एक्लै लड्न मैदानमा उभिएको छ,’ उनले  भने । 

उनले रास्वपालाई भात्तृसंस्था, नातावाद कृपावाद विस्तार गर्नुनपरेको भन्दै इमानदारीका साथ निष्ठावान र क्षमतावान जोसुकै पार्टीसँग आबद्व हुन सक्ने बताए ।
सभामा ‘सर्वसाधारण नागरिकका लागि मेरो परिकल्पनाको देश’ विषयक खुला बहससमेत सञ्चालन गरिएको थियो ।

सुझावित समाचार