२१ लाख घरभाडा उठाएर बेपत्ता भएकी महिला पक्राउ

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

अर्काको घरको भाडा उठाएर ठगी गरी फरार भएको आरापमा प्रहरीले महिलालाई पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका– ४ स्थित लाम्थुमा पार्वती केसी श्रेष्ठको घर जिम्मा लिएर बसेकी जमुनी गिरीले घरको भाडा उठाएको तथा घरका सामानसमेत  लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।  

प्रहरी वृत्त स्वयम्भूले गिरीलाई थानकोटबाट पक्राउ गरेको छ । उनले सो घरको ३४ महिनाको भाडा २१ लाख ४३ हजार तथा घरका फर्निचरलगायत १७ लाख ४० हजार रुपैयाँबराबरका धनमाल नोक्सानी पुर्याएको उजुरी प्रहरीमा परेको छ ।

आफू वकिल भएको र मुद्दा–मामिला मिलाइदिने भन्दै नजिकिएर उनले घरको जिम्मा लिएर त्यही बसेकी थिइन् । घरधनी काठमाडौंमा नबस्ने भएकाले उनले त्यसरी भाडाका साथै घरका सरसामानसमेत ठगी गरेको प्रहरीले जनाएको छ । ठगी तथा आपराधिक लाभ मुद्दामा प्रहरीले उनीमाथि मुद्दा अघि बढाएको छ । उनको घरबाट चोरी गरेका सामानसमेत प्रहरीले बरामद गरेको छ ।

See More On

सुझावित समाचार