बर्खे पानी जमाएर हिउँद हराभरा

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

एकातिर सुनकोसी र अर्कोतिरबाट इन्द्रावती नदी बग्ने चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ११ र १२ मा खानेपानीको चरम अभाव छ । आकासे पानीमा निर्भर यहाँका किसान तीन महिना बर्खाबाहेक सधैँ खानेपानी र सिँचाइको समस्यामा हुन्छन् । 

वडावासीले इन्द्रावतीको पानी लिफ्टिङ गरेर ल्याउन धेरैपटक प्रयास गरे । लिफ्टिङ गरेर ल्याउँदा धेरै खर्च लाग्ने भयो । कृषि उत्पादनभन्दा बढी खर्च लाग्ने लिफ्टिङ प्रणाली महँगो हुने भयो । हजारौँ रोपनी समथर जमिन सुक्खा भएर खेतीपाती लगाउन छाडेका स्थानीय बर्खाभर पानी जमाउन खटिएका छन् । वडा नम्बर ११ का अध्यक्ष रोशन गिरीले प्रत्येक घरधुरीबाट एकजनाले श्रमदान गर्न अपिल गरेका छन् । 

‘पानीको स्रोत नदी होइन आकास हो, भललाई जलमा परिणत गरौँ’ भन्ने अभियान चलाएर गिरीले ११ सय घरधुरीलाई पालैपालो पानी संकलन कार्यमा सक्रिय पारेका छन् । ‘नदी पानीको स्रोत नभएर गन्तव्य हो,’ गिरीले भने, ‘आकासबाट झरेको पानीको स्रोतलाई संरक्षण गर्न सके खानेपानी र सिँचाइ सजिलो हुनेछ ।’ खानेपानी र सिँचाइ दुवै पूरा गर्न पानी पुनर्भरण र भललाई जल बनाउने उपाय निकालिएको छ । सोहीअनुसार वडाबाट विनियोजित २० लाख र स्थानीयको मिहिनेतबाट पानी पुनर्भरण र पोखरी भर्ने काम धमाधम भइरहेको छ । 

खानेपानीको समस्या समाधान गर्न गत वर्ष दुईवटा पानीको मूल किनिएको थियो । त्यसबाट आंशिक आवश्यकता पूरा भयो । वडावासीलाई खानेपानीको समस्याबाट मुक्ति दिलाउन वडाध्यक्ष गिरीले रिचार्ज क्यानल बनाउने अवधारणा ल्याएका छन् । वडाको सिरानमा एउटा पुख्र्यौली धारो छ, जसलाई गाँजे पँधेरो भनिन्छ । बर्खामा सानो धारो खस्ने यो पँधेरो हिउँदभर सुक्खा हुन्छ । बाहै्र महिना पानी खस्ने बनाउन रिचार्ज क्यानल बनाइएको हो । बर्खाभर आकाशबाट झरेको पानीलाई जमिनभित्र पठाएर जलाधार क्षेत्र निर्माण गर्न लागिएको हो । ‘बर्खामा परेको पानी नदीमा जानबाट रोकेका छौँ,’ उनले भने, ‘रिचार्ज क्यानल (स–साना पोखरी) बनाएर जमिनमा पानी पुनर्भरण गरेर हिउँदमा पँधेरोको पानी पिउने हाम्रो लक्ष्य छ ।’ जलाधार क्षेत्र निर्माणका लागि स्थानीयले प्रत्येक महिनाको अन्तिम शनिबार श्रमदान गर्नुपर्छ । एउटा रिचार्ज क्यानल बनाउन तीन हजार खर्च लाग्छ । 

पाँच वर्षभित्र एक अर्ब लिटर पानी जमाउने 
जलाधार क्षेत्रपछि भललाई जल बनाउने अभियानअन्तर्गत ५० लाख लिटर क्षमताको पोखरी खन्ने काम धमाधम भइरहेको छ । वडामा आवश्यकताअनुसार यस्ता पोखरी ठाउँठाउँमा निर्माण हुँदै छ । पोखरी खन्न स्थानीय उत्सुकतापूर्वक लागेका छन् । खेतबारीमा सिँचाइ गर्न सजिलो हुने गरी डाँडाको समथर जमिनमा पोखरी खनिँदै छ । भल जम्मा गर्ने पोखरी र रिचार्ज क्यानलबाट पानीको पुनर्भरण गर्दा पाँच वर्षमा एक अर्ब लिटर पानी जम्मा पार्ने महत्वाकांक्षी योजना रहेको उनले बताए । 

पर्याप्त सिँचाइको व्यवस्था भएपछि आधुनिक प्रविधि र औजार प्रयोग गरेर उत्पादन वृद्धि गर्ने वडाको लक्ष्य छ । वडाले आधा बजेट कृषि क्षेत्रमा राखेको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले वडाध्यक्ष गिरीको योजनालाई बजेट विनियोजन गरेर कृषि क्षेत्रमा पर्याप्त लगानी गर्ने बताए । 
 

सुझावित समाचार