कोत्रेदेखि मुग्लिनसम्म बढी सवारी दुर्घटना

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

एक वर्षमा ४९ जनाको मृत्यु, ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकलचालक

तनहुँमा एक वर्षमा सवारी दुर्घटनामा परी ४९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ३५ पुरुष, १२ महिला र दुई नाबालक छन् । पृथ्वी राजमार्गको कोत्रेदेखि मुग्लिनसम्म धेरै दुर्घटना हुने गरेका छन् । जसमा अधिकांश मोटरसाइकल दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

ओभर स्पिड, ओभरटेकलगायतका कारण धेरैजसो दुईपांग्रे सवारीसाधन दुर्घटनामा परेको उनले बताए । ‘चालकको लापरवाही, मापसे गरी सवारी चलाउँदा पनि केही दुर्घटना भएका छन्,’ खड्काले भने । धेरैजसो मोटरसाइकल अन्य सवारीमा ठोक्किने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । दुईपांग्रे सवारीसाधन चलाउने सचेत नभए डरलाग्दो अवस्था सिर्जना हुने उनको भनाइ छ । तीव्र स्पिडका कारण विपरीत दिशाबाट आएको सवारीसाधनमा ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु हुने गरेको खड्काले बताए । साँघुरा सडक, सवारीको चाप, खाल्डाखुल्डीलगायतले पनि दुर्घटना निम्त्याएको छ । 

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने २८ जना
चालू आर्थिक वर्षमा तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांशको लाइसेन्स नभएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । ‘यस वर्ष ४९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाए । तीमध्ये २८ जना मोटरसाइकलसँग सम्बन्धित छन्,’ उनले भने, ‘पछिल्लो समय प्रहरीले समय–समयमा चेकजाँच गर्ने तथा सचेतनामूलक कार्यक्रम पनि गरेको छ । तर, प्रहरीले मात्रै चाहेर हुँदैन । दुर्घटना हुन नदिन चालक नै सचेत हुन आवश्यक छ ।’ 

दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । दमौली, दुलेगौडा, खैरेनीटार, डुम्रेलगायतका बजार क्षेत्रमा प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो । गत वर्ष सवारी दुर्घटनामा ४८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले बताए । ‘साँघुरा सडक, सवारीको चापले भन्दा पनि चालकको लापरवाही तथा ओभर स्पिडका कारण दुर्घटना भएका हुन्,’ उनले भने ।

सुझावित समाचार