गणतन्त्र दिवसका दिन छुटेका राई ज्यान मुद्दामा पुनः पक्राउ

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

११ वर्ष कैद भुक्तान गरी १५ जेठ ०७७ मा छुटेका र्याबक्स भनिने सोचेन्द्र राई पुनः पक्राउ परेका छन् । गत २४ वैशाखमा चितवन खैरहनी–६, सुनगाभाटोल बस्ने ३५ वर्षीय कुमार थापा मगरलाई उनैको घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनाका मुख्य अभियुक्त भएको आरोपमा राईलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको हो । ३० वर्षका राई चितवन राप्ती ४, खहरेपुलनिवासी हुन् । 

राईको नाममा २७ असारमा पक्राउ पुर्जी र हाजिर हुन आउने म्याद जारी भएको थियो । यद्यपि, खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले प्रहरी वृत्त बालाजुसँगको समन्वयमा ११ साउनमा काठमाडाैं तारकेश्वर नगरपालिका–१०, मनमैँजुबाट राईलाई पक्राउ गरेको हो । राईको साथबाट एक थान खुकुरी, मोबाइल सेट सात थान, नेपाल टेलिकम र एनसेलको सिमकार्ड नौ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई बिहीबार आवश्यक कारबाहीको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

राई यसअघि एउटा कर्तव्य ज्यान, एउटा डाँका र चोरीका तीन गरी पाँचवटा मुद्दामा संलग्न रहेको भनी अदालत पेस गरिएको र पटक-पटक कैद सजाय भोगेका छन् । पछिल्लोपटक ११ वर्ष कारागारमा कैद भुक्तान गरी ०७७ साल ज्येष्ठ १५ गतेका दिन गणतन्त्र दिवसको दिन छुटेका थिए । यस्तै, उनीविरुद्ध अहिले ११ वैशाखमा काभ्रेपलान्चोक जिल्लामा लीलाबहादुर तामाङलाई खुकुरी प्रहार गरेको ज्यान मार्ने उद्योगमा तथा इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मोटरसाइकल चोरी मुद्दा अनुसन्धानको क्रममा छ ।
 

See More On

सुझावित समाचार