सोमबार रातिको अविरल वर्षाका कारण पहिरोले पुरिँदा एकजनाको ज्यान गएको छ। धादिङको नीलकण्ठ नगरपालिका–४ राना गाउँको भरत रानामगरको घर पुरिँदा उनकी बुहारी २४ वर्षीय शर्मिला रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रन्जन अवाले बताए।
इन्स्पेक्टर अवाका अनुसार पहिरोले पुरिएर बेपत्ता भएकी मगरको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले जेसिबीको प्रयोग गरी शव निकालिएको छ। हिजोदेखि परेको अविरल वर्षाका कारण सो पहिरो खसेको हो। गाउँभन्दा माथिबाट पहिरो खसेकोले अन्य पाँच घर पहिरोको उच्च जोखिममा छन्।
रातभर परेको वर्षाले गर्दा जिल्लाका विभिन्न स्थानहरूमा क्षति पुगेको भनिए पनि यकिन तथ्यांक भने आइनसकेको उनले बताए। त्यसैगरी, नीलकण्ठ नगरपालिकास्थित वडा-४ मा पनि अरुण खोलामा आएको बाढीले स्थानीयको घर तथा पसलहरूमा क्षति पुर्याएको छ।