हातखुट्टा गुमाएका ६८ बिरामीले पाए सबल केन्द्रमा निःशुल्क सेवा

नबिल बैंकको आर्थिक सहयोगमा निःशुल्क कृत्रिम हातखुट्टा जडान

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

लमजुङको दोर्दी गाउँपालिकाका विकास तामाङको जन्मजातै एउटा खुट्टाको पैताला थिएन । उनलाई कृत्रिम खुट्टा हालेर अन्य मानिसजस्तै हिँड्ने, डुल्ने रहर नभएको होइन । आर्थिक अवस्था कमजोर भएकाले रहर मारेर एउटा खुट्टाको सहारामा उनले दैनिकी बिताइरहेका थिए । तर, कृत्रिम खुट्टा हालेपछि उनको जिन्दगी नै फेरिएको छ । अहिले उनी सबलांग व्यक्तिजस्तै हिँड्न, काम गर्न र फुटबल खेल्न सक्ने भएका छन् । विकासलाई पहिले सानो सामान उचाल्नुपर्यो भने पनि अप्ठ्यारो हुन्थ्यो । तर, अहिले भने उनी सहजै २५ किलोसम्मका भारी उचाल्न सक्ने बताउँछन् । खेतीपातीको काममा बाबुआमालाई सघाउन सक्ने भएका छन् । 

६ वर्षअघि नवलपुरको मध्यबिन्दु नगरपालिकाका अजय कुमारको खुट्टामा समस्या आयो । धेरै ठाउँमा उपचारका लागि धाए, तर कतै निको भएन । खुट्टा सुन्निएर भित्रभित्रै पाक्न थालेपछि अन्ततः उनको खुट्टा काट्नुपर्ने भयो । पछि उनले भारतको नयाँदिल्लीमा गएर कृत्रिम खुट्टा हाले । कृत्रिम खुट्टा फेर्न तथा मर्मत गर्न अहिले टाढा जानुपर्दैन । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको सबल केन्द्रमै उनले अनुकूल सेवा पाइरहेका छन् । ‘घरनजिकै यस्तो सेवा पाउँदा निकै खुसी लागेको छ,’ उनले भने । उनले शुक्रबार खुट्टाको नाप दिएर गएका थिए, आइतबार अस्पताल आइपुगेको डेढ घन्टाभित्रै कृत्रिम खुट्टा राखियो र हिँड्न पनि सिकाइयो । ‘नेपालमा यस्तो सुविधा पाउनु सुखद हो,’ उनले भने ।

सबल केन्द्रमा विकास र अजयजस्ता विभिन्न कारणले हातखुट्टा गुमाएका ६८ जनाभन्दा बढीले निःशुल्क सेवा पाइसकेका छन् । एक–दुईबाहेक धेरै विपन्न परिवारका छन् । अस्पतालमा सेवा सुरु भएको डेढ महिना भयो । यस अवधिमा चुस्तदुरुस्त सेवा दिनु उदाहरणीय कार्य भएको अस्पतालका प्रमुख वीरबहादुर थापाले बताए । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेपछि विपन्न बिरामीले निःशुल्क सेवा पाएका हुन् ।

केन्द्र सञ्चालनका लागि पैसा नभएपछि नबिल बैंकले हरेक वर्ष केन्द्रलाई आर्थिक सहयोग गर्न थालेको हो । यो सहयोग पाएपछि सबल केन्द्रले भारतबाट कृत्रिम अंग बनाउने कच्चा पदार्थ तथा तालिम दिने मान्छे ल्याएर कृत्रिम हातखुट्टा राख्ने काम सुरु गर्न सकेको अस्पताल प्रमुख थापा बताउँछन् । सबल केन्द्रमा अहिले भारतका दुईजना, अस्पतालका पूर्वनिर्देशक दीपकसिंह केसी, प्राविधिक विकास तामाङले कृत्रिम हातखुट्टा बनाउने काम गर्र्दै आएका छन् ।

सबल केन्द्रमा कृत्रिम हातखुट्टा जडानसँगै कृत्रिम हातखुट्टाले कसरी काम गर्ने, कसरी हिँड्ने भनेर प्रशिक्षण पनि दिइन्छ । ‘बैसाखी टेक्दै आएका व्यक्ति आफैँ हिँडेर घर फर्किएको देख्दा मनमा छुट्टै किसिमको सन्तुष्टि हुन्छ । हिँड्न नसक्नेहरू हिँड्न सक्ने भएर जान्छन् । हात नहुनेहरू आफैँले पानी खान सक्ने भएर जान्छन्,’ थापाले भने, ‘यो सफलताका पछाडि नबिल बैंकको ठूलो साथ र सहयोग छ । यो साथ र सहयोगको निरन्तरताको अपेक्षा गरेका छौं ।’
 

सुझावित समाचार