मेगा बैंक १३औँ वर्षमा प्रवेश समता सामुदायिक अस्पताललाई सहयोग

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

मेगा बैंक नेपाल लिमिटेडले १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको अवसर पारेर समता अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बौद्धमा रहेको समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका अध्यक्ष शाहले अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ । अस्पतालले एक सय रुपैयाँमा सर्वसाधारणको उपचार गराउँदै आएको छ । न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । 

१२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले १३ वर्षअगाडि एक हजार दुई सय १९ जना संस्थापक सेयरधनीको लगानीमा १४ जना संस्थापकहरू र चारजनाको रणनीतिक समूहको अथक मिहिनेत र सहजीकरणमा दुई सय ३३ करोड भएको बैंक स्थापना गरेको स्मरण गरेका थिए । अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि)मै कतिपय विधाहरूमा अग्रणी बैंकका रूपमा स्थापित हुन पुगेको बताए । बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रूपमा स्थापित भएको बताइन् । 

बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको जनाइएको छ । देशको २८औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७औँ स्थानमा रहेको बैंकले जनाएको छ । ०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब एक खर्ब ५६ अर्ब र कुल कर्जा करिब एक खर्ब ५० अर्ब रहेको छ । 
 

सुझावित समाचार