काठमाडौंका सडक झिलिमिली पार्ने लक्ष्य राखिएको ‘स्मार्ट स्ट्रिट लाइट’ योजना अलपत्र परेको छ । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक बजेट नदिँदा महानगरमा दुई हजार ७८ वटा लाइट जडान गर्ने योजना अघि बढ्न नसकेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
काठमाडौं, ललितपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच ०७७ फागुनमा सडकमा अत्याधुनिक विद्युतीय बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गर्ने सम्झौता भएको थियो । सडकबत्ती जडानको काम नेपाल विद्युत् प्राधिकरणले गर्ने तथा उक्त आयोजनाको कुल लागतमध्ये ६० प्रतिशत महानगरपालिका र ४० प्रतिशत प्राधिकरणले व्यहोर्ने सम्झौता भएको थियो ।
तर, सोअनुसार काठमाडौं महानगरले बजेटको व्यवस्था नगरेको भट्टराईले आरोप लगाए । ‘अन्य ठाउँमा स्मार्ट स्ट्रिट लाइट जडान योजना अघि बढेको छ, तर काठमाडौं महानगरमा काम सुरु नै भएको छैन,’ उनले भने, ‘महानगरपालिकाले सम्झौता गरे पनि त्यसको लागत खर्च र अन्य कुरामा समन्वय नगरकाले काम सुरु गर्न सकिएको छैन ।’
प्राधिकरणका अनुसार सडकबत्तीका लागि उपत्यकामा अहिले करिब पाँच हजार पोल छन् । ती पोलमा टाँगिएका अधिकांश बत्ती बल्दैनन् । ब्याट्री पुरानो हुँदै गएपछि सडकबत्ती मधुरो बल्ने गरेको प्राधिकरणका इन्जिनियर विराज शर्माले जानकारी दिए । उनले नयाँ स्मार्ट स्ट्रिट लाइट निकै चम्किलो हुने र पाँच वर्षसम्म टिक्ने बताए । ‘नयाँ स्मार्ट स्ट्रिट लाइट टिकाउ हुन्छ, पाँच वर्षसम्म त्यसको बल्ब बिग्रियो भने पनि ठेकेदार कम्पनीले जिम्मा लिन्छ,’ उनले भने ।
उनका अनुसार ०७७ मा महानगर र प्राधिकरणबीच ६ महिनाभित्र सडकबत्ती बालिसक्ने सम्झौता भएको थियो । तर, काठमाडौंले भुक्तानी रोक्दा काम सुरु नै हुन नसकेको उनले बताए । काठमाडौं र ललितपुरमा गरेर दुई सय ८० स्थानमा नयाँ पोल गाडिँदै छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्राधिकरणले कारण नखुलाएकाले बजेट नदिइएको बताए । ‘पैसाचाहिँ महानगरको, कामचाहिँ आफ्नै भनेर प्राधिकरणको टोलीले डकुमेन्ट बनाउनुभयो, त्यसैले महानगरले बजेट दिनेसम्बन्धमा स्पष्टीकरण मागेको छ,’ उनले भने, ‘कम्तीमा महानगरको आर्थिक सहयोगमा भनेर डकुमेन्टमा देखिएको भए हामीले सहकार्य गर्न सक्थ्यौँ ।’
कहाँ–कहाँ बल्दैनन् सडकबत्ती ?
राजधानीका मुख्य सडकमा रातिको समयमा पनि झिलिमिली बत्ती बालिनुपर्ने हो । चहकिलो बत्तीसँगै सहर जाग्राम हुनुपर्ने हो । तर, सडकआसपासमा पोल भए तापनि त्यसमा टाँगिएका अधिकांश बल्ब बल्दैनन् । ती बत्ती सार्क सम्मेलनको वेला जडान गरिएको थियो । त्यसयता सडक उज्यालो पार्न उपत्यकामा कुनै काम भएको छैन ।
पुरानो सोलार ब्याट्री फेर्दा धेरै खर्च लाग्ने भएपछि नयाँ बत्ती जडान गर्ने योजना अघि सारिएको थियो । अहिले एयरपोर्ट, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, त्रिपुरेश्वर, कलंकी चोक, कोटेश्वरलगायत थोरै ठाउँका सडकमा बत्ती बल्छन्, तर मधुरो मात्रै । त्यस्तै, कोटेश्वर–भक्तपुर सडकखण्डमा अधिकांश लाइट बिग्रिएका छन् । सडकबत्ती नबल्दा रातिको समयमा सवारी दुर्घटनाको समेत जोखिम हुने गरेको छ । पुरानो हुँदै गएकाले सडकबत्ती मधुरो बलेको र कतिपय ठाउँमा बिग्रिएको काठमाडौं महानगरका पूर्वाधार महाशाखा प्रमुख रामबहादुर थापाले जानकारी दिए ।
काम सकिनुपर्ने वेलामा बल्ल सुरु
सम्झौताअनुसार ०७८ कात्तिकसम्म उपत्यकाका सबै सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गरिसक्नुपर्ने हो । तर, उपत्यकाभित्र ललितपुर क्षेत्रमा मात्रै अहिले काम भइरहेको छ । प्राधिकरणका अनुसार काठमाडौंमा ८० किलोमिटर भित्री र बाहिरी सडकमा स्मार्ट बत्ती जडान गरिने योजना तय भएको हो । नेपाल विद्युत् प्राधिकरणले सडकबत्ती जडानका लागि प्रोजेक्ट छुट्याएको छ । राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाअन्तर्गत स्मार्ट स्ट्रिट योजनाको काम सुरु भएको आयोजनाका सहायक प्रबन्धक सागर ज्ञवालीले बताए । एक वर्षभित्र काठमाडौंका सडक झिलिमिली हुने उनको दाबी छ । ‘प्राविधिक समस्याका कारण र महानगरका कारण काम केही ढिलो भएको हो,’ उनले भने, ‘अब एक वर्षभित्र मुख्य सडकभित्रको रात्रिकालीन सौन्दर्य नियाल्न सकिनेछ ।’
९० र १२० वाट क्षमताका स्मार्ट बल्ब जडान गरिँदै
सुरुमा विद्युत् प्राधिकरणले ९० र १२० वाट क्षमताका स्मार्ट बल्ब जडान गर्नेछ । जसमा एक हजार दुई सय २७ वटा बत्ती ९० वाट र बाँकी बत्ती १२० वाट क्षमताका हुनेछन् । पुरानै पूर्वाधारमा यी स्मार्ट बल्ब जडान गरिनेछ ।
प्राधिकरणका अनुसार ललितपुरका कुपन्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुना, सातदोबाटोलगायत क्षेत्रमा स्मार्ट लाइट जडान भइसकेको छ । यो क्षेत्रमा पहिलो चरणमा काम भएको हो । यी ठाउँमा बत्ती बलिसकेको र ‘मास्ट’ जोड्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
ललितपुरमा राखिने बत्तीमध्ये दुई सय ३९ वटा ६० वाट क्षमता र अन्य ९० वाट क्षमताका बल्ब हुन् । ललितपुरका व्यस्त सडकको १५ स्थानमा ‘हाई मास्ट’ बत्ती जडान हुनेछन् । यो लाइट जडान ललितपुर महानगर आफैँले आफ्नै खर्चमा गर्नेछ । प्राधिकरणले ललितपुर क्षेत्रका सडकमा स्मार्ट बत्ती जडानका लागि सातवटा रुट तोकेको छ । जसअनुसार सातदोबाटो–हरिसिद्धि, सातदोबाटो–धापाखेल, सातदोबाटो–सुनाकोठी र एकान्तकुना–भैँसेपाटी–बुङमती क्षेत्र पर्दछन् । यसका साथै बुङमती दोबाटो र रातो मच्छिन्द्रनाथ मन्दिर, खोकना दोबाटो र रुद्रायणी मन्दिर र खोकना बसपार्क र बुङमती मन्दिर जोड्ने मार्ग पनि आयोजनाभित्र समेटिएका छन् ।
पोखरामा १६ सयवटा लाइट, भरतपुरमा ११ सय नयाँ पोल
पोखरा महानगरमा पनि स्मार्ट स्ट्रिट लाइट बाल्ने तयारी गरिएको छ । उक्त क्षेत्रमा सडकबत्ती जडानका लागि टपसन इनर्जी कम्पनीलाई जिम्मा दिइएको छ । पोखरा मुख्य सहरभर १६ सय वटा स्ट्रिट लाइट बालिनेछ । पोखरामा पाँच सयवटा नयाँ पोल थप गरिनेछ । त्यहाँ २३ वटा हाई मास्ट लाइट जडान गरिनेछ । प्राधिकरणका अनुसार पोखरा र ललितपुरमा ६ महिनाभित्र लाइट जडानको काम सकिनेछ । त्यस्तै, स्मार्ट स्ट्रिट लाइट जडानका लागि चितवन भरतपुर महानगरको ८० किलोमिटर क्षेत्रमा पोल गाड्ने काम सुरु भइसकेको छ । यहाँ ११ सय नयाँ पोल र १९ सय लाइट जडान हुनेछ ।
के हो स्मार्ट स्ट्रिट लाइट ?
हाल जडान गर्न लागिएको यो लाइट संसारका मुख्य सहरहरूमा राखिएको आधुनिक लाइट हो । यो सोलारबाट पनि बल्छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन जोडेरै यो लाइट बाल्ने जनाएको छ । सोलार प्रविधि बढी खर्चिलो र उज्यालो कम दिने भएकाले प्राधिकरणकै लाइन प्रयोग गर्न लागिएको हो । यसलाई चलाउन प्राधिकरणले सर्भर निर्माण गरेको छ । सडकमा रहेका स्मार्ट बत्तीहरूको प्राधिकरणको सर्भरसँग सीधा जडान हुन्छ । जसअनुसार कहीँ कतै लाइट बिग्रियो भने प्राधिकरणका कर्मचारीले कम्प्युटरबाट थाहा पाउन सक्छन् । आयोजनाका अनुसार यो करिब १२ वर्षसम्म टिक्छ । सर्भरबाट पनि स्मार्ट लाइट अन र अफ गर्न सकिन्छ । तर, यो बत्ती अन अफ गर्न पनि पर्दैन । उज्यालो र अध्यारोसँगै बल्ने निभ्ने हुन्छ । यसले समय र जनशक्तिको बचत गर्छ ।