समानुपातिकतर्फ नै २०–२५ सिट जित्छौं : अध्यक्ष नेपाल

शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नहुने बताएका छन्  । पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आगमाी मंसिर पहिलो हप्ता निर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने बताए । निर्वाचनमा गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले निर्देशन दिए ।

‘सम्भवतः मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फु बजाएर बस्ने ?’ उनले भने, ‘अब डम्फु बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो ।’ स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारूढ अन्य दलहरूले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाइ थियो । 

उनले आगामी निर्वाचनमा समानुपातिकतर्फ नै २० देखि २५ सिट ल्याउने दाबीसमेत गरे । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकमै आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे ।  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उनले दाबी गरे । 

‘हाम्रो पार्टी यति छोटो समयमा विद्रोह गरेर, नयाँ क्रान्तिकारी चेत लिएर आएको हाम्रो पार्टीले आफ्नो छुट्टै शक्ति देखाउने अवस्था छ,’ अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ । १२ जना प्रत्यक्षबाट निर्वाचित छौँ हामी प्रतिनिधिसभामा । त्यसलाई त घटाउन सक्दैन कसैले पनि । त्यसाे हुनाले अरू पार्टीभन्दा हाम्रो हैसियत कमजोर हुने होइन नि ।’

सुझावित समाचार