नेपाल टी–२० लिग खेल्ने चार टोलीको घोषणा

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

घोषणा कार्यक्रममा पोखरा र सुदूरपश्चिम टोली अनुपस्थित

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगमा आबद्ध ६ मध्ये चार टोलीको नाम सार्वजनिक भएको छ । क्यानले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सहभागी पे्रmन्चाइज टोलीको नाम घोषणा गरेको हो ।

नाम घोषणा हुँदा दुई टोली अनुपस्थित थिए । बाँकीमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्स छन् । कान्तिपुर क्यापिटल्स फ्रेन्चाइजका मालिक कान्तिपुर मिडिया ग्रुप रहेको छ । नेपाली अल स्टार्स अमेरिकाले लुम्बिनी अल स्टार्स टोलीको स्वामित्व लिएको छ । विराटनगर र जनकपुरका व्यवस्थापक भने भारतीय छन् । विराटनगरलाई डायमन्ड डिजी क्याप प्रालि र जनकपुर रोयल्सलाई गोल्ड स्पोर्टस् प्रालिले खरिद गरेका छन् । ‘अहिले चार टोलीका मालिकको मात्र नाम घोषणा गरेका हौँ, केही दिनभित्रै थप दुई टोलीको नाम पनि सार्वजनिक गर्नेछौँ,’ पत्रकार सम्मेलनमा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले भने, ‘थप दुई मालिक उपस्थित नभएका कारण प्रक्रिया लम्बिएको हो ।’ 

गत साता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल टी–२० लिगलाई औपचारिक रूपमा मान्यता दिएको थियो । योसँगै नेपालमा आइसिसीको मान्यतामा पाउने नेपाल टी–२० लिग एक मात्रै बन्न पुगेको छ । क्यानले गत ६ जेठमा सहरको नाम सार्वजनिक गरेको थियो । विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी, भैरहवा र सुदूरपश्चिम थियो । क्यानले टोलीको स्वामित्व लिने टेन्डर आह्वान गरेको थियो । 

विदेशी व्यवस्थापक स्वाभाविक
क्यानको मुख्य आयोजनामा हुने नेपाल टी–२० मा विदेशी मालिकहरूको बाहुल्य छ । धेरैजसोले सहभागी फ्रेन्चाइज टोलीका मालिक नेपाली नै हुने अपेक्षा राखेका थिए । टोलीको नाम र मालिक घोषणा हुँदा विदेशीको नाम सार्वजनिक भयो । क्यानका कार्यवाहक सचिव मल्ल नेपाल टी–२० लिगको फ्रेन्चाइज टोलीमा विदेशी व्यवस्थापन हुनु नौलो नभएको र यो विश्वव्यापी अभ्यास भएको बताउँछन् । ‘फ्रेन्चाइजमा विदेशी मालिक हुनु सामान्य हो, उचित प्रस्ताव ल्याउनेमाथि विश्वास गछौँ र त्यही टोलीले मान्यता पाउने हो,’ मल्लले भने, ‘क्रिकेटको विकासका लागि नेपालको मात्र लगानी हुनुपर्छ भन्ने मान्यता छैन, यसलाई आइसिसीले पनि रोक्दैन ।’

प्रतियोगितामा नेपालभित्रबाटै फ्रेन्चाइज टोली नपाएर विदेशी ल्याइएको अर्थ नलगाउन पनि उनले आग्रह गरे । ‘धेरैमा भ्रम परेको हुन सक्छ नेपालमा लगानीकर्ता नभेट्टाएर विदेशी लगानीकर्ता ल्याएको होइन । हामीले लगानीको दीर्घकालीन योजना पनि हेर्नुपर्छ,’ मल्लले भने, ‘लामो समयसम्म लगानी गर्न सक्ने व्यवस्थापकलाई टोलीका मालिक बनाएका हौँ ।’ 

लिग समयमै हुने
क्यानले नेपाल टी–२० लिगलाई भविष्यको मजबुत योजनाका रूपमा लिएको छ । प्रतियोगिताले नेपाली क्रिकेट नै परिवर्तन हुने क्यानको दाबी छ । क्यानले गत जेठमा नेपाल टी–२० लिगको घोषणा गरेको थियो ।

पहिलो संस्करण आगामी ८ असोजदेखि ५ कात्तिकसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो संस्करणको लिग निर्धारित समयमै हुने बताए । ‘यसमा कुनै शंका छैन, नेपाल टी–२० लिग घोषणा भएकै मितिमा हुनेछ,’ चन्दले भने, ‘यसलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।’ नेपाल टी–२० लिगमा खेल्ने क्याटेगोरी ‘ए’का खेलाडीको प्रारम्भिक मूल्य १५ लाख रुपैयाँ हो । 

लिग आयोजनामा बाधा छैन : चतुरबहादुर चन्द अध्यक्ष, क्यान
एभरेस्ट प्रिमियर लिग (इपिएल) को आयोजक एभरेस्ट प्रमियर लिग प्रालिले नेपाल टी–२० लिगमा विदेशी कम्पनीलाई विदेशी कानुनअनुसार व्यवस्थापनको जिम्मा दिएकोमा अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको थियो । अदालतले यस रिट सम्बन्धमा फैसला सुनाएको छैन । अहिले अदालतबाट कारण देखाऊ आदेश मात्र जारी भएको छ ।

क्यानका अध्यक्ष चन्दले नेपाल टी–२० को आयोजनाका लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असर नगर्ने बताए । ‘सर्वोच्चबाट कारण देखाऊ आदेश आएको छ, हामीले जवाफ पेस गरिसकेका छौँ,’ चन्दले भने, ‘हामीलाई कारण देखाऊ आदेश मात्र आएको छ, लिग नै स्थगित गर्नू भनेर अन्तरिम आदेश आएको छैन ।’ 

टी–२० लिगको व्यवस्थापन अधिकारका लागि सेभेन थ्री स्पोर्टस्सँग २०२१ जनवरीमा सम्झौता भएको थियो । यो सम्झौता क्यानको बोर्ड र साधारणसभाले पनि पास गरेको थियो । ‘त्यतिवेला बोर्डमा रहेका साथीहरूले सम्झौताका सम्बन्धमा कुनै प्रश्न उठाउनुभएन,’ चन्दले भने, ‘अहिले उहाँहरूको के स्वार्थ मिलेन मलाई थाहा हुने कुरा होइन । कुनै पनि संस्थाका जिम्मेवार व्यक्तिले निर्णय गर्दा सोची–सम्झी गर्नुपर्छ ।’

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा आयोजना प्रक्रिया अगाडि बढ्न नदिन क्यानका ६ जना कार्यसमिति सदस्यले आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा निवेदन दिएका थिए । कार्यसमिति बैठकमा आफैँले सहमति गरेको र साधारणसभाबाट पास गरेको विषयविरुद्ध लाग्न बोर्ड सदस्यलाई नैतिक रूपमा अप्ठ्यारो हुनुपर्ने चन्दले बताए ।

सुझावित समाचार