कमिसनतन्त्रलाई संरक्षण गर्ने संस्कृति मुलुकभित्र डरलाग्दो तवरले हुर्किएको प्रमुख प्रतिपक्षी दल एमालेको निष्कर्ष छ। पार्टीनिकट उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले मुलुकको गिर्दो आर्थिक सूकचांक सार्वजनिक गर्दै एमालेले यो धारणा सार्वजनिक गरेको हो।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशत र थोक मुद्रास्फीति ५.७७ प्रतिशतले घटेको एमालेको दाबी छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवमा उपभोक्ता मुद्रास्फीति बढेर ८.५६ प्रतिशत पुगेको छ। गत वर्ष यो दर ४.१९ प्रतिशत थियो। त्यस्तै, थोक मुद्रास्फीतिको दर बढेर १४.७७ प्रतिशत पुगेको छ। गत वर्ष यो दर ९ प्रतिशत थियो।
त्यस्तै, शोधनान्तर घाटा, खुद सेवा आय, विदेशी मुद्रको सञ्चिति, राज्यको नगद मौज्दात पनि गत वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। कार्यक्रममा सहभागी एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले सरकार कमिसनतन्त्रमा लागेका कारण मुलुकले यो दुर्गति भोग्नुपरेको बताए।
कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै ज्ञवालीले विगतको सरकारका पालामा ‘सरकार कसरी चलाउने हामीसँग सिक्नुहोस्’ भन्नेहरूको हातमा सरकार पुग्दा शोषणको भुमरीमा जनता परेको बताए। उनले भने, ‘हिजो हामी सरकारमा थियौँ। सरकार राम्रैसँग चलिरहेको थियो। आलोचना गर्नेहरू संसदमा उभिएर ‘शासन कसरी चलाउने हामीसँग सिक्नुस्’ भन्थे। आज उनीहरूको हातमा सत्ता छ। मुलुकले यो हविगत भोगेको छ। तर, उहाँ आज बोलिरहनुभएको छैन।’