जहाँ खाली जग्गा, त्यहाँ भूमाफियाका आँखा

जापानमा रहेकी महिलाको मृत्युदर्तासहित सबै कागजपत्र नक्कली बनाएर सात करोडको जग्गा बिक्री

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण
जहाँ खाली जग्गा, त्यहाँ भूमाफियाका आँखा

नक्कली कागजात बनाएर अर्काको जग्गा बिक्री गरेको आरोपमा पक्राउ परेको गिरोह ।

भूमाफिया गिरोहले विदेशमा रहेकी एक महिलाको मृत्युदर्तासहितका सबै कागजपत्र नक्कली बनाएर कलंकीमा रहेको उनको सात करोडबराबरको जग्गा बिक्री गरेको छ । जापानमा बस्दै आएकी शान्तादेवी लोहनीको नाममा रहेको ११ आना जग्गा मालपोत कार्यालय कलंकीबाट बिक्री गरिएको हो । गिरोहका पाँचजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । यही गिरोहले चितवनमा पनि त्यस्तै फर्जी काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

गिरोहका मुख्य योजनाकार सिन्धुपाल्चोक मेलम्ची–४ घर भई ललितपुर बस्ने गणेशबहादुर खनाल र सोलुखुम्बु थुलुङ दुधकोसी–१ घर भई बुढानीलकण्ठ बस्ने बाबुराम कार्की तथा उनीहरूका सहयोगी दार्चुला घर भई टोखा बस्ने महावीर चन्द, नुवाकोट घर भई वनस्थली बस्ने प्रेमप्रसाद खनाल र वनस्थलीकी ममता भन्ने डासीमाया श्रेष्ठ पक्राउ परेका हुन् । चन्द जग्गाधनी बनेर मालपोतमा उपस्थित हुने व्यक्ति भएको र अन्य दुई सो जग्गा कारोबारमा खरिदकर्ता खोज्ने बिचौलिया भएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए । 

उनीहरूले मालपोत कार्यालयमा नक्कली कागजपत्र पेस गरी नक्कली नै जग्गाधनी उपस्थित गराई जग्गापास गराएको एसपी महतोले बताए । १५ पुस ०७७ मा जग्गा शान्तादेवीको नामबाट उनका श्रीमान् (नक्कली) तारानिधि लोहनीको नाममा लगिएको थियो । श्रीमतीको मृत्युपछि प्रमुख हकदार श्रीमान् हुने भएकाले उनीहरूले यस्तो योजना बनाएका थिए । तारानिधि पनि पत्नीसँगै जापानमा छन् । 

तारानिधिको नाममा नामसारी गरेको दुई महिनापछि भक्तपुरकी सुनीता कर्माचार्यलाई ११ आना जग्गा तीन करोड ७० लाख रुपैयाँमा बिक्री गरिएको थियो । जबकि, यो जग्गाको बजार मूल्य करिब सात करोड पर्छ । सुनीताले जग्गा एनसिसी बैंकमा राखेर कर्जा निकालेकी थिइन् । जसकारण यो प्रकरणले बैैंकको धितोसमेत जोखिममा परेको छ । सुनीता पनि अनुसन्धानमा तानिएकी छन् । 

 मालपोत कार्यालय पनि अनुसन्धानको दायरामा
लमजुङ स्थायी घर भएकी शान्तादेवी श्रीमान्सहित विगत २४ वर्षदेखि जापान बस्दै आएकी छन् । त्यहीँ गरेको कमाइले उनले ०६१ मा कलंकीमा ११ आना जग्गा खरिद गरेकी थिइन् । गत महिना उनी श्रीमान्सहित नेपाल आइन् । त्यतिखेर मालपोतमा आफ्नो बायोमेट्रिकसहितको विवरण टिपाउन गइन् । त्यसो गर्दा जग्गा किर्तेबाट जोगिने उनको विश्वास थियो । तर, त्यसअघि नै उनको जग्गा सुनीता कर्माचार्यको नाममा पुगिसकेको थियो र उनको मृत्यु भइसकेको भनेर मृत्युदर्ताको प्रमाणपत्रसमेत मिसिलमा पेस गरेर जग्गा नामसारी भएको थियो । 

मालपोतमा फाइल हेरेपछि विक्षिप्त भएकी शान्तादेवीले प्रहरीमा उजुरी दिइन् । दुई साता लामो अनुसन्धानपछि प्रहरीले गिरोहका नाइकेसहितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । प्रारम्भिक अनुसन्धानमा घटनामा मालपोत कार्यालयको शंकास्पद भूमिका देखिएको छ । नक्कली लालपुर्जा पेस गर्दा पनि उनीहरूले चिन्न सकेका थिएनन् । जबकि, लालपुर्जा बनाउने निकाय मालपोत नै हो । साथै, नागरिकतालगायत अन्य सरकारी कागजपत्र प्रमाणित गर्नतर्फ चासो नदिएकाले मालपोत कर्मचारी पनि छानबिनको दायरामा छन् ।

यो घटनामा मालपोत कर्मचारीलगायत विभिन्न निकायका व्यक्तिको भूमिकामाथि छानबिन हुने सिआइबीका एसपी महतोले बताए । विगतमा पनि मालपोत कर्मचारीकै मिलेमतोमा यसरी धेरै जग्गाधनीलाई थाहा नदिई बिक्री गरेका उदाहरण छन् । योजनाकार कार्कीले लेखापढी व्यवसायीमार्फत आफूहरूले मालपोत कार्यालयबाट छिटो काम गराएको बताएका छन् । 

खाली जग्गामा यसरी लगाउँथे निसाना
भूमाफियाको यो गिरोहले खाली रहेका जग्गालाई आफ्नो निसानामा पार्ने गरेको अनुसन्धानमा खुलेको छ । खाली जग्गा देख्यो भने सो जग्गा आफूहरूलाई भाडामा चाहिएको भन्दै धनीबारे जानकारी लिन्थे । जग्गाधनी टाढा तथा विदेशमा बस्ने थाहा पाएपछि सोही जग्गाको किर्ते कागजपत्र बनाएर बिक्री गर्ने योजना बनाउँथे । 

लोहनीको कलंकीको जग्गाका धनी पनि विदेशमा रहेको थाहा पाएपछि उनीहरूले बिक्रिीको योजना बनाएको अनुसन्धानबाट खुलेको छ । जग्गाकै काम गर्ने भएकाले के–के कागजपत्र चाहिन्छ भन्ने उनीहरूलाई ज्ञान थियो । त्यहीअनुसार लालपुर्जा, नागरिकतादेखि मृत्युदर्ताको प्रमाणपत्रसमेत नक्कली बनाए । लालपुर्जा नक्कली बनाउन पनि कित्ता नम्बरदेखि जग्गाको क्षेत्रफल मिल्नुपर्ने हुन्छ । त्यसबारे विवरण उनीहरूले मालपोतकै कर्मचारीबाट लिएको हुन सक्ने आशंका गरिएको छ । 

चितवनमा पनि एउटा २८ कठ्ठा र अर्काे ५८ कठ्ठा जग्गा उनीहरूले त्यसैगरी बिक्रीको तयारी गरिरहेका थिए । ५८ कठ्ठा जग्गा आफ्नो कम्पनीको नाममा ल्याइसकेका थिए । ग्राहकसमेत खोजिसकेका थिए भने ती ग्राहकले बैंकमा राख्ने प्रक्रियासमेत अघि बढाइसकेका थिए । प्रहरीले समयमै गिरोहलाई पक्राउ गर्दा जग्गा बिक्री हुन भने पाएन । अर्काे जग्गा भने आफ्नो कम्पनीको नाममा ल्याउनलाई सबै कागजपत्र बनाइसकेका थिए । मुख्य योजनाकार खनाल र कार्कीलाई सोही काममा सक्रिय भएको वेला प्रहरीले चितवनबाटै पक्राउ गरेको हो । 

यो गिरोह कतिसम्म चलाख थियो भने सो जग्गा कारोबारका लागि तारानिधि लोहनीकै नाममा सिमकार्डसमेत निकालेका थिए । उनको पुरानो नम्बर पत्ता लगाई विदेश गएपछि प्रयोग गर्न छाडेकाले सोही नम्बर नक्कली नागरिकताका आधारमा टेलिकमबाट लिएका थिए । जग्गा बिक्री भएपछि नम्बर प्रयोग गर्न छाडेका थिए । पछि अनुसन्धान भए पनि जोगिनका लागि उनीहरूले फरक–फरक नम्बर र मोबाइल प्रयोग गर्दै आएको सिआइबीले जनाएको छ । आफ्नो वास्तविक नामसमेत उनीहरूले लुकाउँदै आएका थिए । 

तारानिधि लोहनी बनेर मालपोतमा उपस्थित हुने दार्चुलाका महावीर चन्द जग्गाकै कारोबारी हुन् । उनलाई सो गिरोहले करिब २५ लाख रुपैयाँ उपलब्ध गराएको अनुसन्धानमा खुलेको छ । पैसाको कारोबारका लागि नक्कली नागरिकताबाटै बैंकमा खाता खोल्ने र कारोबार सकिएपछि उनीहरूले बैंक खातासमेत बन्द गरेको अनुसन्धानमा आबद्ध सिआइबीका डिएसपी गोविन्द काफ्लेले बताए । सो गिरोहबाट अन्य धेरै नागरिकता र लालपुर्जा पनि प्रहरीले बरामद गरेको छ । ती कागजपत्र पनि ठगी गर्नकै लागि तयारी गरिएको हुन सक्ने प्रहरीको आकलन छ । 

नेपालबाट अमेरिका र क्यानडामा ठगी,  दुई भारतीयसहित १३ जना पक्राउ 

सुझावित समाचार