आँबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबारदेखि पूर्ण सञ्चालनमा आउने

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

 पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबारदेखि दुईतर्फी सञ्चालनमा आउने भएको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका–४, साँखरमा शुक्रबार सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । तत्कालै डोजर लगाएर भित्ता खारेर एकतर्फी बाटो खुलाइएको थियो । तीन दिनदेखि बाटो दुईतर्फी सञ्चालन गर्न काम भइरहे पनि समय–समयमा रोकिएका सवारीसाधन पास गराउनुपर्ने बाध्यता भएकाले निर्माणमा पनि ढिलाइ भएको हो । 

अहिलेसम्म पहाडको करिब पाँच मिटर भित्ता खारेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले बताइन् । ‘करिब पाँच मिटर जति भित्ता खारिसकेका छौँ । रातको समयमा पनि बाटो बढाउन काम गरेका छौँ । डोजर चलाउने अपरेटर नभएकाले आइतबार राति काम गर्दैनौँ,’ उनले भनिन्, ‘हामीसँग एकजना मात्रै अपरेटर छ, त्यसले गर्दा समस्या भएको हो ।’

सोमबारबाट दुईतर्फी सवारी चलाउने उनले बताइन् । भित्ताको कटिङ मिलाउने तथा कर्भहरू बलियो बनाउने काम गरिने उनको भनाइ छ । ‘पहिरो खसिहाल्यो भने पनि डोजर तयारी अवस्थामा राख्छौँ । रातको समयमा काम नभए पनि सुरक्षाकर्मी तैनाथ रहनेछन्,’ केसीले भनिन् । लगातार परेको पानीका कारण शुक्रबार त्यहाँको सडक भासिँदा कार र मोटरसाइकल मस्र्याङ्दी नदीमा खस्दा दुईजनाको ज्यान गएको थियो । 

सुझावित समाचार