मन्थलीबाट छिमेकी गाउँपालिका लिखु तामाकोसी गाउँपालिकाको केन्द्रसम्मको २७ किलोमिटर सडक पार गर्न तीन घन्टा लाग्छ । कच्ची सडक, जताततै ठुल्ठूला खाल्डाखुल्डी छन् । वर्षात्को समयमा घन्टौँसम्म त्यही खाल्डामा यातायातका साधन भासिन पुग्दा यात्रु समयमा आफ्नो गन्तव्यमा पुग्न सक्दैनन् । सोही सडकमार्ग हुँदै लिखु नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका ठुल्ठूला मालवाहक सवारीसाधन गुड्दा सडक क्षतविक्षत बन्न पुगेको हो ।
सडकमा जताततै रहेका ठूला खाडल पुर्न न त जलविद्युत् आयोजनाले चासो देखाएको छ, न त सम्बन्धित गाउँपालिकाले नै । सडक मर्मत नहुँदा हिउँदका समयमा पनि साना चारपांग्रे सवारीसाधन गुड्न मुस्किल पर्छ भने मोटरसाइकलचालकले आफ्नो ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाले दुई वर्षसम्म लाखौँ रुपैयाँ खर्च गरेर सडक मर्मत गरे पनि जलविद्युत् परियोजनाका ठूला मालवाहक सवारीसाधनले क्षति पुर्याएकाले समस्या भएको लिखु तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहले जानकारी दिए । ‘पालिकाले खर्च गरेर सडक बनाए पनि जलविद्युत् परियोजनाका ठूला सवारीसाधन गुडाउँदा सडक क्षतविक्षत बनेको हो,’ उनले भने ।
केही महिनाअघि सडकमा क्षति पुगेको भन्दै गाउँपालिकाले लिखु–४ जलविद्युत् आयोजनास्थलतर्फ जाने सवारीसाधनलाई रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालयले जलविद्युत् आयोजनाका सवारीसाधनलाई रोक लगाउन नमिल्ने भन्दै सडकमा निर्बाध ढंगले यातायात सञ्चालन गर्न दिनुपर्ने भन्दै पालिकाको सूचना खारेज गरेको थियो ।
जलविद्युत् आयोजनाले निर्माणको काम सम्पन्न गरेर व्यावसायिक रूपमा उत्पादन गर्न सुरु गरिसकेको छ । तर, अझैसम्म पनि आयोजनाले मन्थली–धोवी सडकखण्ड मर्मत नगरेको आरोप गाउँपालिकाले लगाउँदै आएको छ । लिखु गाउँपालिकाको लिखु नदीमा लिखु–३ र लिखु–४ जलविद्युत् परियोजना सञ्चालनमा छन् । जसमा लिखु–४ आयोजनाले काम सम्पन्न गरी विद्युत् उत्पादनको काम सुरु गरिसकेको छ भने लिखु–३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
पालिकाको केन्द्रसम्म पुग्ने सडक जर्जर भएकाले नागरिकले हैरान खेप्नुपरेपछि नवनिर्वाचित पालिकाका प्रमुख केशव महतले सडक कालोपत्रेलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘यसअघि पनि हाम्रो पालिकाको मुख्य केन्द्रसम्म पुग्ने सडकलाई प्रदेश र संघीय सरकारले प्राथमिकतामा पारेनन्,’ उनले भने । यसपटक आफूले प्रदेश र संघीय सरकारसँग आवश्यक बजेट माग गर्ने र पालिकामा आएको बजेटसमेत उक्त सडकमा खर्च गरेर बाह्रै महिना चल्न सक्ने बनाउने गरी काम थाल्ने महतको भनाइ छ ।
हिउँदको समयमा सवारीसाधन चलाउन केही सहज भए पनि वर्षात्को समयमा भने उक्त सडकमा सवारीसाधन चलाउनै मुस्किल पर्ने गरेको छ । गाउँपालिकाभित्रका खिम्ती–शिवालय–धोवी जोड्ने सडक, दुरागाउँ–सैपु र नागदह खण्डको सडक पनि जर्जर रहेको लिखु तामाकोसी गाउँपालिकाका नागरिक अगुवा आशबहादुर तामाङले जानकारी दिए ।