‘दाहिने मोडिनुपर्ने विमान देब्रे लागेपछि दुर्घटना’

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

२० शवको उद्धार, एउटा घटनास्थलमै, एक यात्रुको अवस्था अझै अज्ञात

तारा एयरको कलसाइन ‘९ एन–एइटी’ विमान उडानका क्रममा दाहिने मोडिनुपर्नेमा देब्रेतिर लागेपछि पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विश्लेषण गरिएको छ । आइतबार बिहान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको विमान २१ घन्टापछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटनाग्रस्त हालतमा भेटिएको थियो । 

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले दुर्घटनाबारे भने, ‘जोमसोम विमानस्थल पुग्न आठ नटिकल माइलको दूरी बाँकी छँदा विमान दुर्घटना भएको देखियो । उक्त ठाउँबाट ‘राइट टर्न’ हुनुपर्नेमा ‘लेफ्ट टर्न’ भएर दुर्घटना भएको देखिएको छ । ब्ल्याकबक्स भेटिएपछि थप स्पष्ट भइन्छ ।’ दुर्घटना भएको विमान उक्त ठाउँ पुग्नुभन्दा तीन मिनेटअघि मात्रै समिट एयरको विमान पुगेको र चालक दलका सदस्यले मौसम खराब नभएको सूचना दिएकाले मौसम दुर्घटनाको कारण नभएको पनि उनले बताए । 

विमानमा चालक दलका तीन सदस्यसहित २२ जना रहेकामा २० जनाको शव निकालिएको छ । १० शव काठमाडौं पठाइएको र १० शव घटनास्थलनजिकै संकलन गरेर राखिएको छ । एउटा शव घटनास्थलबाट उद्धार गर्न बाँकी छ भने अर्का एक यात्रुको अवस्था अझै अज्ञात छ । सोमबार रात परेपछि उद्धार स्थगित भएको छ । 

समुद्र सतहबाट करिब चार हजार तीन सय मिटर उचाइमा रहेको दुर्घटनास्थल त्यस क्षेत्रमा यार्सा टिप्न गएका बाग्लुङका विशाल घर्तीले फेला पारेका थिए । आइतबारै विमान दुर्घटनाको सूचना पाए पनि मौसम प्रतिकूलताका कारण रोकिएका विशाल र उनका साथीहरू सोमबार बिहान मात्रै आशंका गरिएको ठाउँतिर लागेका थिए । भिरमा दुर्घटनाग्रस्त विमान देखेपछि उनले स्थानीयलाई जानकारी गराएका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा रहेकाहरूलाई सम्पर्क गरेर फोटो–भिडियो मागेको थियो । दुर्घटनास्थल फेला परेको यकिन गरेपछि सेना र प्रहरी उद्धारका लागि पुगेका थिए ।

‘सानोसरे क्षेत्रमा यार्सा टिप्न बाग्लुङबाट आएका विशाल घर्ती र उनका साथीहरूले दुर्घटनाग्रस्त जहाजको फोटो र भिडियो सार्वजनिक गरेपछि घटनास्थल पहिचान भएको थियो,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘त्यसपछि हवाई र पैदलमार्गबाट खोजी तथा उद्धार सुरु भएको हो ।’ 

दुर्घटना भएको जहाजमा आगलागी भने भएको छैन । अधिकांश शव पहिचान गर्न सकिने उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । चालक दलका तीन सदस्य रहेको विमानमा १३ नेपाली यात्रु, चार भारतीय र दुई जर्मन नागरिक थिए । आइतबार बिहान ९:५५ बजे पोखराबाट उडेको उक्त विमान १०:१५ देखि सम्पर्कविहीन भएको थियो ।

सुझावित समाचार