सरकारले उत्पादन वृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमका लागि तीन अर्ब ५५ करोड विनियोजन गरेको छ । आइतबार आगामी वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । उनका अनुसार स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने व्यवस्था लागू गरिनेछ ।
त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान बढाउने, मेसिनरी आयातमा सहुलियत प्रदान गर्नेजस्ता कार्यक्रमहरू ल्याइने अर्थमन्त्री शर्माले बताए ।
कपास तथा रबर खेतीलाई प्रोत्साहन गर्ने, चितवनको शक्तिखोरलगायत क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने, भेन्चर क्यापिटललाई प्रोत्साहन गर्ने, स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरी सञ्चालनमा ल्याएर उत्पादन वृद्धि गर्ने उनले बताए ।
उत्पादन वृद्धिका लागि भैरहवा र सिमराका विशेष आर्थिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालन गर्ने, पाँचखालमा विशेष आर्थिक क्षेत्रको निर्माण सम्पन्न गरिने पनि अर्थमन्त्री शर्माले बताए । मन्त्री शर्माका अुनसार औद्योगिक पूर्वाधार क्षेत्रलाई तीन अर्ब ७९ करोड विनियोजन गरिएको छ ।