देशभरका ३२ स्थानमा मतदान स्थगित : आयोग

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीचको द्वन्दका कारण मतदान स्थगित भएको तर रद्ध नभएको बताएका छन् ।  प्रमुख आयुक्त थपलियाले स्राेत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताए । 

‘अहिले विभिन्न जिल्लाका ३२ वटा मतदान केन्द्रमा द्विपक्ष विभिन्न राजनीतिक दल र उम्मेदवारहरूका बीचको द्वन्दको कारणले मतदान कार्य स्थगत भएको छ । यो रद्ध भएको होइन। मतदान अधिकृतहरूले हरसम्भव प्रयास गरेर मतदान कार्यलाई सुचारु राख्ने प्रयासमा हुनुहुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आयोगको प्रस्ट धारणा के छ भने आयोग वा आयोगका कर्मचारी र सुरक्षाकर्मीको कारणले कहीँ कतै गडबढी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ । विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेको हो भने यो मान्य हुँदैन ।’ 

प्रमुख आयुक्त थपलियाले ३ बजेसम्म झन्डै ४६ प्रतिशत मत खसेको जानकारी दिए ।  केहीमा ७०, केहीमा १८ प्रतिशतसम्म मत खसेको उनको भनाइ छ ।  

थपलियाका अनुसार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्रहरूमा कर्मचारी रहने र रोकिएका मतदान  पुनः सुचारु हुनेछ ।  ‘५ बजेभित्रमा मतदानस्थलको तोकिएको परिसरमा छिरेका सबै मतदातालाई मताधिकारको प्रयोग गर्न दिन्छौँ । स्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग छैन,’ उनले भने । उनका अनुसार आयोगले  ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको आकलन छ । 

प्रमुख आयुक्त थपलियाले अहिले सप्तरी, बझाङ, बाजुरा, बारा र रौतहटका केही मतदानस्थलमा उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामाथि आक्रमण गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना रहेको बताए । उनका अनुसार  जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य आयोगले राखेको छ ।  

सुझावित समाचार