लमजुङमा राँगोले हानेर एकजनाको मृत्यु

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

लमजुङको सुन्दरबजारमा आफैँले पालेको राँगोले हानेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।   सुन्दरबजार नगरपालिका– ४ का ४४ वर्षीय खुमबहादुर नेपालीको  राँगाले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ६ बजे गोठमा राँगो बाँध्न गएका खुमबहादुरलाई राँगोले हानेपछि गम्भीर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि बेँसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको  थियो । बेँसीसहरमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा बाटोमै गम्भीर अवस्था भएपछि फर्काएर सुन्दरबजार– ९, सिउँडीबारको भोटेओडार अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुबबहादुरले पालेको उक्त राँगो करिब तीन वर्षको रहेको स्थानीयले बताएका छन् । प्रहरीले उक्त राँगोलाई दिमागी असन्तुलन भएको हुन सक्ने बताएको छ ।मान्छेको ज्यान लिने राँगोलाई प्रहरीले गोली हानेर मारेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।  राँगाेले हानेर शनिबार साँझ खुमबहादुरकी छोरी २० वर्षीया रविना पनि घाइते भएकी थिइन् ।

उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनको शरीरको तल्लो भागमा चोट लागेको छ । रविनालाई हानेको राँगोलाई बिहान बाँध्ने क्रममा  खुमबहादुरलाई हानेको स्थानीय रामदेवी परियारले बताइन् ।

See More On

सुझावित समाचार