एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई विना पर्खालको खुल्ला काठमाडौं बनाउने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा आयोजित बागमती किनारका पालिकाहरुमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरुसँगको अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा स्थापितले यस्तो बताएका हुन् ।
स्थापितले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गर्दै काठमाडौंभित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गरे । उनले स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगले व्यहोर्ने घोषणा गरे । काठमाडौंमा ४८ अर्ब राजश्व उठाउन बाँकी रहेकोले आफू मेयर भएपछि हरेक दिन जनताको गुनासा सुनेर तत्काल समस्या समाधान गर्ने पनि उनले बताए । उनले नदीलाई सानो बनाएर दायँबायाँबाट सडक निकाल्ने र नदी क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि काठमाडौं महानगरपालिका भित्रका घर परिवारमा बच्चा जन्मिएपछि एक बिरुवा रोप्ने अभियान शुरु गर्ने आफ्नो योजना रहेको बताइन् । उनले काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न समस्या नभएको भन्दै व्यवस्थापन गर्न नजान्दा समस्या भएको बताइन् । सिंहले आफू राजनीतिकर्मी तथा सामाजिक अभियन्ता भएको बताउँदै बागमती नदी किनार र आफ्नो घरमा एउटा भएपनि रुख रोप्न महानगरवासीलाई आग्रह समेत गरिन् । ‘म एउटा राजनीतिककर्मी पनि हो र सामाजिक अभियन्ता पनि । मैले वागमती सरसफाइका काम धेरै गरेकी छु । मैले यहाँ रुखबिरुवा रोप्नलाई पहल गरेकी छु । किनभने म यहाँ काममा लागिराखेको महिला हो । म यस काममा लागिराखेको पनि छु । वागमती नदी किनारमा र आफ्नो घरमा एउटा भएपनि रुख रोपिदिन आग्रह गर्दछु’, सिंहले भनिन्, ‘म मेयर भएपछि त्यो अभियान सञ्चालन गर्नेछु । बच्चा जीन्मने बित्तिकै एउटा रुख रोप्न लगाउनेछु । यो फोहोरको व्यवस्थापन गर्ने कुरा ठूलो कुरा होइन, घरबाटै गर्न सक्छौँ । पर्यावरणलाई कमजोर बनाउने काम भइरहेको छ, यो व्यवस्थापनको कमजोरीले हो ।’
विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेता समीक्षा बास्कोटाले आफू मेयरमा उठेपछि सबैभन्दा पहिला फोहोर व्यवस्थापनमा ध्यान दिने आफ्नो योजना भएको बताइन् । उनले घरबाट नै फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने धारणा राखिन् । ‘सबैभन्दा पहिला हाम्रो फोहोर व्यवस्थापन हुनुपर्छ । यो फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो श्रोत भनेको हाम्रो घरघरबाट नै फोहोर छुट्टिनुपर्छ । कुहिने र नकुहिने फोहोर घरबाटै छुट्टिनुपर्छ । हामीले अर्को कुरा प्लाष्टिको कम प्रयोग गर्ने हो,’ बास्कोटाले भनिन् । उनले काठमाडौं महानगरपालिकाभित्र रहेका खुल्ला क्षेत्रलाई सर्वसुलभ पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको बताइन् ।