मुसलमानभित्रको जात–व्यवस्था

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

मुसलमानको मामिलामा जातको उपस्थितिलाई राज्य र सम्भ्रान्त मुसलमान प्रतिनिधिले आफ्नो ‘समानतावादी शास्त्र’का आधारमा सजिलै अस्वीकार गरेका छन् 

पछिल्ला दुई दशकयता भारतीय सार्वजनिक वृत्तमा मुसलमान समुदायमा हुने जात–व्यवस्थाको बहस सुस्त तर स्थिर ढंगले वृद्धि भइरहेको छ । यसो हुनुमा थुप्रै कारक छन्, जसमा मुसलमान संगठनमा मण्डल राजनीतिको प्रभाव, महाराष्ट्रका साथै विहार र उत्तर प्रदेशमा तल्लो जातका मुसलमान समूह ‘पसमन्दा’को ब्यानरमा एकजुट हुनु, युपिए सरकारको सच्चर समिति, रंगनाथ मिश्रा आयोगको प्रतिवेदन र मुसलमान समुदायका जातको विभिन्न पक्षमा प्राज्ञिक संकथनमा वृद्धि हुनु आदि पर्छन् ।

मुसलमान समुदाय पनि जात–व्यवस्थाबाट प्रभावित छन् भन्ने बुझाइका दूरगामी प्रभाव छन् । यसमा मुसलमान र ‘मुसलमान मुद्दा’लाई भारतमा कसरी हेरिन्छ, विशेषतः समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्नेले कसरी हेर्छन् भन्नेले उजागर गर्छ । इम्तियाज अहमद र खालिद अन्सारीले यो संख्या ८५ प्रतिशत छ भन्ने आकलन गरेका छन् । यो संख्या आधिकारिक हो भने यसले न्यून सामाजिक–आर्थिक सूचकसहित धेरै ‘मुसलमान मुद्दा’ जातका आधारमा उत्पन्न भएका हुन् भन्ने देखाउनेछ ।  

यद्यपि तथ्यांकको अभावले मुसलमानभित्रका जाति र सामाजिक–आर्थिक रूपमा पिछडिएकाको विषयमा हुने व्यापक अध्ययन र दाबीलाई असर गरेको छ । मुलुकभरि मुसलमान समुदायभित्रका जात समूहको अनुपातको भरपर्दो तथ्यांक छैन । सन् १८७१ को जनगणनाको तथ्यांकले लगभग १९ प्रतिशत उच्च जाति र ८१ प्रतिशत तल्लो जातका मुसलमान रहेको देखाउँछ । यद्यपि सच्चर समितिको प्रतिवेदनले एनएसएसओको तथ्यांकका आधारमा मुसलमान जनसंख्याको ४० प्रतिशतमा तल्लो जातको मुसलमान पर्छन् । त्यसैगरी मण्डल आयोगको प्रतिवेदनअनुसार यो तथ्यांक ५२ प्रतिशत मात्रै छ, जहाँ दलित मुसलमानको जनसंख्या गणना गरिएको छैन ।

स्वतन्त्रतापछि अनुसूचितबाहेकको जनगणनामा जातको गणना नहुँदा भारतभरका समुदाय र जातको स्थितिको बुझाइमा असर परेको छ । मुसलमानको मामलामा जातको उपस्थितिलाई राज्य र सम्भ्रान्त मुसलमान प्रतिनिधिले आफ्नो ‘समानतावादी शास्त्र’का आधारमा सजिलै अस्वीकार गरेका छन् अर्थात् दोहोरो अस्वीकार्यता विद्यमान छ । जातका आधारमा जनगणना नहुनुले मुसलमानलाई तिनका गरिबी, शैक्षिक पिछडापन र पेसागत अवस्था बुझ्ने मानकबाट जातलाई हटाइएको छ । उदाहरण, गरिबीको अध्ययन गर्न बनाइएको सन् १९८३ को गोपाल सिंह समितिको प्रतिवेदनले ‘कला र शिल्पमा धेरै प्रतिभा राख्ने’ मुसलमान कारिगर अझै भूमिहीन, गरिब र शोषित छन् भन्ने तथ्यमा आश्चर्य व्यक्त गरेको थियो । यदि समितिले मुसलमान समुदायमा रहेको ‘कला’ गैरऐतिहासिक सन्दर्भविहीन ‘प्रतिभा’का रूपमा नभई परम्परागत पेसा जात बनेको हो भन्ने बुझेको भए समितिले मुसलमानको गरिबीलाई थप राम्रोसँग बुझ्न सघाउँथ्यो । 

यस सन्दर्भमा यस वर्ष प्रकाशित दुई अध्ययनले मुसलमान समुदायमा रहेको जात र केही तथ्यांकमाथि प्रकाश पारेको छ । पहिलो, छवि तिवारी, श्रीनिवास गोली, मोहम्मद जाहिद सिद्दिकी र प्रदीप एस साल्वेको जर्नल अफ इन्टरनेसनल डेभलपमेन्टमा भर्खरै प्रकाशित एक शोधपत्रले उप–जातमा भूमि, गरिबी, रोजगारी, शिक्षा र स्वास्थ्य सूचकहरू तुलना गर्न उत्तर प्रदेशमा सात हजार घरपरिवारको अध्ययन गरेको छ । र, यो अध्ययन दुवै हिन्दू र मुसलमान समुदायमा गरिएको थियो । अध्ययनअनुसार ७६ प्रतिशत मुसलमान तल्लो जातका छन् भने दलित मुसलमान २४ प्रतिशत छन् । र, दलित मुसलमानको आँकडा महŒवपूर्ण छ किनभने यो तप्काले छुवाछुतको विभेदमा परे पनि अनुसूचित जातअन्तर्गत कुनै संरक्षण पाउँदैन । अध्ययनले उच्च जात र तल्लो जातका मुसलमानका विभिन्न सूचकमा भिन्नता रहेको दोहो¥याउँछ । दलित र पिछडा वर्ग (ओबिसी) मुसलमानमा ग्रामीण गरिबी क्रमशः ५३ प्रतिशत र ४२ प्रतिशत छ, जबकि उच्च जातिका मुसलमानमा यो आँकडा ३१ प्रतिशत छ । ८० प्रतिशत दलित मुसलमान भूमिहीन छन् भने माथिल्लो जातका मुसलमानका लागि यो आँकडा ४४ प्रतिशत छ । दलित र ओबिसी मुसलमान बैंकबाट ऋणजस्ता औपचारिक वित्तीय सेवामा दुई गुणाले बढी बहिष्कारमा पर्छन् ।

अध्ययनले माथिल्लो र तल्लो जातका मुसलमानबीच ठूलो सामाजिक–आर्थिक असमानता रहेको र यसअघिका अध्ययनको अनुमानभन्दा तल्लो जातका मुसलमानको संख्या बढी रहेको देखाउँछ । यद्यपि, अध्ययनले उच्च जातका मुसलमान अझै पनि सामाजिक–आर्थिक सूचकांकको दाँजोमा हिन्दू उच्च जातभन्दा पर्याप्त बेफाइदामा छन् भन्ने तथ्यलाई दोहो¥याएको छ । उदाहरण, उच्च जाति हिन्दूका लागि ग्रामीण क्षेत्रमा गरिबी अनुपात १४ प्रतिशत छ भने मुसलमान उच्च जातिको यो आँकडा ३१ प्रतिशत छ । दोस्रो, जुलियन लेवेस्क, लरेन्स गौटियर र निकोलस बेलोर्गेको हालैको अध्ययन उल्लेखनीय छ । मुसलमान नेताले ओगटेका ‘सामाजिक स्थान’लाई दायरामा ल्याएर अध्ययनले मुसलमान नेतृत्वमा केही मात्रात्मक जानकारी दिन्छ । 

द इन्डियन एक्सप्रेस 
आजम अक्सफोर्ड विश्वविद्यालयमा मुसलमान  जात–व्यवस्थामा विद्यावारिधि गरिरहेकी छिन्, गोली आइआइपिस मुम्बईका सहायक प्राध्यापक हुन्

 

सुझावित समाचार