हिमालयन एक्सट्राई ट्राइथलन २४ वैशाखमा

१७ देशका १७ प्रतिस्पर्धी पोखरा आइपुगे

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

विश्वमै कठिन मानिने एक्स्ट्रिम वल्र्ड टुर ट्राइथलनअन्तर्गत हिमालयन एक्सट्राई पोखरामा हुने भएको छ । नेपालमा पहिलोपटक हुन लागेको खेलमा सहभागी हुन १७ देशका १७ खेलाडी पोखरा आइपुगेका छन् । प्रतियोगिता २४ वैशाखमा हुने आयोजक हिमालयन एक्सट्राईले जनाएको छ । प्रतियोगिताका आयोजक तथा को रेस डाइरेक्टर रिक्की योञ्जनका अनुसार नेपालका सन्तोष राई र सशस्त्र प्रहरीकी सोनी गुरुङले सहभागिता जनाउनेछन् । सोनी प्रतियोगिताको ब्रान्ड एम्बासडरसमेत हुन् भने १३औँ दक्षिण एसियाली खेलकुद (साग) र आठौँ राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन् । 

दूरी पार गर्न १४ घन्टा लाग्ने अनुमान  प्रतियोगिताअन्तर्गत ३.८ किमि पौडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुनेछ । प्रतिस्पर्धीहरूले २४ वैशाख बिहानै ४ बजे सुरुमा फेवातालमा पौडी, त्यसपछि साइक्लिङ र निर्धारित दौड पूरा गर्नेछन् । फेवातालमा पौडीपछि साइकलबाट उनीहरू पोखरा हुँदै बाग्लुङ कलिकास्थान मन्दिर हुँदै फर्किएर पुनः पोखरा–२५ स्थित हेम्जाको मिलन चोक हुँदै कास्कीको माछापुच्छ्रे  गाउँपालिकास्थित लुम्रे पुग्नेछन् ।

लुम्रेबाट सुरु भएको दौड मर्दी हिमालको हाइक्याम्पको चार हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर समापन हुनेछ । प्रतिस्पर्धा सम्पन्न हुन १४ घन्टा लाग्ने आयोजकको अनुमान छ । दुई वर्षअघि आयोजना हुने भनिएको प्रतियोगिता कोरोनाका महामारीका कारण सरेको हो । 

सन् २००३ मा क्यानडाबाट सुरु भएको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइथलन’ हरेक वर्ष युरोपसहित अमेरिकाका १७ देशमा आयोजना हुँदै आएको छ । प्रतियोगिताका लागि ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइथलन’का सिइओ स्ट्रेवाट मेकिन्ससमेत पोखरा आएका छन् ।  प्रतियोगिहरूको सुरक्षाका लागि स्वयंसेवक टोलीसहित हेलिकोप्टरको व्यवस्था गरिएको छ । विजेताले एक टिसर्ट पाउनेछन् जुन निकै महँगो र दुलर्भ मानिन्छ । जितपछि पाइने कालो छिरबिरे रङको टिसर्टले विश्वभर प्रतियोगीलाई चिनाउनेछ । त्यसका अलवा आयोजकले चिनोस्वरूप नेपाली हस्तकलाद्वारा निर्मित मेडलसमेत प्रदान गर्नेछ ।

सुझावित समाचार