रात्रिकालीन उडानतालिका बनाउन कार्यदल

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

बढ्दो हवाई चाप व्यवस्थापन गर्न भन्दै तराईका सात विमानस्थल राति १२ बजेसम्म सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध वायुसेवा कम्पनीहरू विरोधमा उत्रिएपछि रात्रिकालीन उडानतालिका बनाउन ११ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा भएको छलफलमा वायुसेवा कम्पनीका प्रतिनिधिलाई समेटेर प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । यो कार्यदलले रात्रिकालीन उडानतालिकाबारे अध्ययन गरी २१ गतेसम्म प्रतिवेदन बुझाउने बताइएको छ ।

पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, क्यानका महानिर्देशक प्रदीप अधिकारी र वायु सेवा सञ्चालक संघका सदस्यहरू बुद्ध, यती, श्री, सौर्य, गुण एयरलाइन्सबीच शुक्रबार पर्यटन मन्त्रालयमा छलफल भएको थियो । कार्यदलमा ६ जना प्राधिकरण र पाँचजना वायुसेवा कम्पनीका प्रतिनिधि राखिएको छ । यो कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा नयाँ तालिका २३ वैशाखदेखि लागू हुने संघले जनाएको छ । प्राधिकरणले आफूहरूसँग छलफल नै नगरी एकपक्षीय ढंगले नयाँ स्लट जारी गरेको भन्दै वायुसेवा कम्पनीहरूले शुक्रबारदेखि उडान नगर्ने चेतावनी दिएका थिए । प्राधिकरणले सातवटा विमानस्थलको पुरानो उडानतालिका संशोधन गर्दै बुद्ध, यती, श्री, सौर्य, गुण एयरलाइन्सलाई पत्राचार गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई चापका कारण आन्तरिक उडानहरू समयमा हुन नसकी ‘टर्मिनल कन्जेसन’ र ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएपछि प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलमा सञ्चालन समय ६ घण्टा बढाएर १८ घण्टा पुर्याएको छ । वायुसेवा कम्पनीहरूले असन्तुष्टि जनाउँदै राति आठ बजेपछि उडान गर्न नसकिने भन्दै बिहीबार सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएका थिए । 

प्राधिकरण, एटिसी तथा वायुसेवा कम्पनीहरू सम्मिलित कार्यदलले २१ गतेसम्म प्रतिवेदन बुझाउने र सो प्रतिवेदनअनुसार २३ गतेदेखि नयाँ स्लटअनुसार रात्रिकालीन उडान सञ्चालन गर्ने निर्णय भएको संघले जनाएको छ । यो निर्णयको विरोधमा शुक्रबारदेखि स्थगन गर्ने भनिएका सम्पूर्ण उडानहरू सामान्य रूपमै सञ्चालन भए । नयाँ स्लट प्रणाली लागू नगरुन्जेल पहिलेकै स्लटअनुसार नै उडानहरू सञ्चालन हुने संघको भनाइ छ ।

See More On

सुझावित समाचार