गरिमा रोड रेस : तीर्थकुमार पुन र राज्य रावल प्रथम

आइतबार, ६ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडाैं । गरिमा रोड रेस ०८३ मा पुरुषतर्फ तीर्थकुमार पुन र महिलातर्फ राज्य रावल प्रथम भएका छन्। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगितामा पुन र रावलले पहिलो स्थान हात पारेका हुन्।

कुल एक हजार चार सयभन्दा बढी धावकको सहभागिता रहेको खुला विधामा १० किलाेमिटरको दूरी पुरुषतर्फ ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै पुन र महिलातर्फ ३९ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै रावलले प्रथम स्थान हासिल गरे। कर्पोरेट विधामा पाँच किलाेमिटरको दूरी पुरुषतर्फ १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै ईश्वर बुढाथोकी र महिलातर्फ २६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै दिव्या विष्टले प्रथम स्थान हासिल गरे।

‘स्वस्थ जीवनशैलीका लागि खेलकुुद’ भन्ने नारालाई आत्मसात् गर्दै बैंकले यही ७ मंसिरमा पर्ने २०औँ वार्षिकोत्सवको अवसरमा रोड रेस आयोजना गरेको हो। खुलातर्फ १० किलाेमिटर दूरीको प्रतियोगिता बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौँडा हुँदै बुढानीलकण्ठ नगरपालिका– ३ को कार्यालयअगाडि पुगी पुनः सोही मार्गबाट बालुवाटार आई समापन भएको थियो। कर्पोरेटतर्फ पाँच किलाेमिटर दूरीको प्रतियोगिता बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगी पुनः बालुवाटार आई समापन भएको थियो।

प्रतियोगितामा प्रथम, दोस्राे, तेस्राे, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः खुलातर्फ ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगदसहित मेडल र प्रमाण–पत्र प्रदान गरिएको
थियो। साथै, कर्पोरेटतर्फ क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार,  र पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
 

सुझावित समाचार