अलपत्र कन्काई पुल निर्माणको जिम्मा सरकारी पूर्वाधार कम्पनीलाई दिने तयारी

आइतबार, ६ मंसिर, २०८३
प्रिन्ट संस्करण
अलपत्र कन्काई पुल निर्माणको जिम्मा सरकारी पूर्वाधार कम्पनीलाई दिने तयारी

कन्काई पुल १५ वर्षदेखि अलपत्र बनेपछि बाँसको पुलमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय । तस्बिर ः नयाँ पत्रिका फाइल

झापा- सरकारले १५ वर्षदेखि अलपत्र बनेको हुलाकी राजमार्गअन्तर्गको कन्काई पुल निर्माणको जिम्मा नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडलाई दिने तयारी थालेको छ । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड सरकारको पूर्ण स्वामित्व भएको निर्माण तथा परामर्श कम्पनी हो । २५ असार ०७६ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर निष्क्रियजस्तै रहेको यो कम्पनी नयाँ सरकार आएसँगै सक्रिय भएको छ । नयाँ कार्यकारी अधिकृत प्रभाकर थापालाई नियुक्त गरिएसँगै सरकारले यसलाई सक्रिय बनाउन कन्काई पुलको निर्माणको जिम्मा दिने तयारी थालेको हो ।

कम्पनीलाई पुल निर्माणको जिम्मा दिन भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागस्तरमा छलफल भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, आयोजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए । ‘कम्पनीका प्रतिनिधि, मन्त्रालय र सडक विभागसहितको छलफलमा म पनि सहभागी थिएँ । कम्पनीका प्रतिनिधिले साइट भिजिट पनि गरिसक्नुभएको छ । चाडपर्व सकिएको छ, अब फेरि साइट भिजिट गर्ने कुरा छ,’ उनले भने, ‘कम्पनीलाई निर्माणको जिम्मा दिने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । केही समयमा टुंगिन्छ ।’ कन्काई पुल अधुरो भएका कारण सरकारी कम्पनीलाई नै निर्माणको जिम्मा दिने तयारी भइरहेको प्रमुख पोखरेलले बताए । ‘यो अधुरो पुल हो । बाहिरका कम्पनीबाट काम गराउन प्रक्रियागत कुरा हुन्छ । लामो प्रक्रिया रहन्छ । अलिक झन्झटिलो पनि हुन्छ,’ पोखरेलले भने, ‘तसर्थ, सरकारले आफ्नै कम्पनीलाई निर्माणको जिम्मा दिने तयारी गरिएको हो । छलफल टुंगियो भने मंसिरसम्ममा ठेक्का सम्झौता हुन्छ ।’ 

नेपाल पूर्वाधार कम्पनीका प्रशासन प्रमुख विवेक कार्कीले भने सम्झौता निश्चित नभएसम्म बोल्न नमिल्ने बताए । यद्यपि, सरकारले विश्वास गरेर निर्माणको जिम्मा दिए पुल बनाउन कम्पनी सक्षम रहेको उनको भनाइ छ । ‘सरकारले जिम्मा दिएमा हामी काम गर्न सक्छौँ । हाम्रै प्राविधिक टिम पनि छ,’ उनले भने, ‘यसअघि साइटको अवस्था के छ भनेर प्राविधिकले सर्भे गर्नुभएको हो ।’ 

कन्काई पुलको ठेक्का तोडिएको एक वर्षसम्म नयाँ ठेक्का प्रक्रिया सुरु नहुँदा स्थानीयले भने सास्ती व्यहोर्नुपरेको छ । ठेक्का लागे पनि पुल अलपत्र बन्दा स्थानीय नागरिकले वर्षौँदेखि जोखिपूर्ण रूपमा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट यात्रा गरिरहेका छन् । यसरी यात्रा गर्दा स्थानीयले शुल्कसमेत बुझाउनुपर्छ । दैनिक दुई सयभन्दा बढी मानिसले वारपार गर्ने ठाउँमा पुल नहुँदा कठिन भइरहेको स्थानीय बताउँछन् । पुल नबनेको मौकामा गौरीगन्ज गाउँपालिकाले यसलाई आफ्नो आम्दानीको स्रोत बनाएको छ । गाउँपालिकाले बाँसको पुल र डुंगा सञ्चालनका लागि बर्सेनि ठेक्का लगाउँदै आएको छ ।

१५ वर्षदेखि अलपत्र हुलाकी राजमार्गको कन्काई पुल नबनेको अवस्थामा केही किलोमिटर उत्तरमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका जोड्ने कन्काई पुल समयअगावै बनेको भन्दै भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आफ्नो फेसबुकमा प्रचार गरेपछि अहिले आलोचना भइरहेको छ । स्थानीयले हुलाकी राजमार्गको कन्काई पुलतर्फ हेर्न भन्दै मन्त्री लम्साललाई प्रतिक्रिया दिइरहेका छन् । यो पुल ११ पुस ०७९ मा ठेक्का सम्झौता भएर १० असोज ०८३ मा सम्पन्न गर्नुपर्ने थियो । अहिले पूर्ण रूपमा काम नसकिए पनि आवतजावत सुरु भएको छ । 

 

सुझावित समाचार